१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भीडभाड हुने गतिविधि नगर्न राजनीतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गर्नुभएको छ ।

शनिबारदेखि सुरु भएको ‘नेपाल मास्क’ अभियानको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गर्नुभएको हो । उहाँले व्यापार र व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि व्यवसायीहरूलाई आग्रह गर्नुभयाे ।‍

प्रधानमन्त्री देउवाले नेपालमा पनि कोभिड–१९ महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गर्नुभएको छ । उहाँले अहिले खोप अभियान पनि जारी रहेकाले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न आग्रह गर्नुभएको छ ।

सरकारको एक्लो प्रयासले कोभिड नियन्त्रण गर्न नसकिने भन्दै प्रधानन्त्री देउवाले सबैको साझा प्रयासले कोभिड महामारीलाई नियन्त्रण गर्न सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

सरकारले शनिबारदेखि साउन २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ अभियान सुरु गरेको हो ।

अभियानमा कोरोना रोकथाम तथा निन्त्रणमा नागरिकलाई जिम्मेवार बनाउने‚ मास्क प्रयोगको महत्त्व बझाउने राष्ट्रिय स्वास्थ्य शिक्षा‚ सूचना तथा सञ्चाल केन्द्रकी निर्देशक डा. राधिका थपलियाले बताउनुभयो ।

अभियानका लागि ‘म पनि मास्क लगाउँछु‚ अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ लगायतका नारा तय गरिएको छ ।