१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सचिवालय बनाउन पनि ज्योतिषीकै राय कुरेको हो प्रधानमन्त्रीज्यू ?

मन्त्रिपरिषद् पूर्णतामा ढिलाइ किन ?

0
Shares

अक्कल कुँवर
काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा प्रत्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवा दोषी देखिए पनि गठबन्धन दलबीचको जोडघटाउ मुख्य कारक मानिएको छ ।

माओवादीभित्र पदमा जाने चरम महत्वाकांक्षा, माधव नेपाल पक्षको माछा पाए भित्र हात, सर्प देखे बाहिर हातको रणनीतिले सरकारले पूर्णता पाउन नसकेको हो । त्यसमाथि मधेशी दलभित्रको कचिंगल पनि उत्तिक्कै जिम्मेवार छ । सरकार गठनमा जति ढिलाइ भयो, त्यतिनै बद्नामी पनि बढ्दै जाने निश्चित छ ।

देउवा नेतृत्वमा सरकार गठन भएको ३ साता बितिसक्दा पनि मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित ४ जना मन्त्री र १ जना राज्यमन्त्री मात्र छन् । जसका कारण मन्त्रालयबाट हुनुपर्ने दैनिक काम कारबाही प्रभावित भइरहेका छन् । अझैपनि गठबन्धनमा मन्त्रालयको भागबण्डामा ठोस सहमति हुन सकेको छैन ।

मन्त्रिपरिषद्ले पूर्णता नपाउनुमा प्रधानमन्त्री देउवा नै मुख्य दोषी हुन् । मन्त्रिपरिषद् पूर्णता त परै जाओस् प्रधानमन्त्री देउवाले आफ्नो सचिवालयसम्म पनि गठन गर्न सक्नुभएको छैन । हुन त हरेका काम गर्नुअघि ज्योतिषीलाई देखाउने देउवाले यसका लागि पनि ज्योतिषीकै राय कुरिरहेको हुनसक्ने एकाथरीको व्यङ्ग्य छ ।प्रधानमन्त्रीसँगै गठबन्धनका दलहरू पनि मन्त्रिपरिषद् पूर्णतामा ढिलाइ हुनुमा उत्तिकै दोषी छन् ।

सुरुमा जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद र त्यसपछि नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई पर्खिँदा ढिलाइ भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउनुहुन्छ ।

मन्त्रिपरिषद्को पूर्णतामा ढिलाइ हुनुको कारण यति मात्र होइन । गठबन्धनका दलभित्र सरकारमा पठाउने मन्त्री छान्न कतिसम्म सकस परेको छ भन्ने सत्तारुढ दलको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अभिव्यक्तिले प्रष्ट पार्छ । उहाँले एक सार्वजनिक कार्यक्रममा पार्टीभित्रका ४९ सांसद् सबैलाई मन्त्री चाहिएको र आफूलाई अहिले मानसिक तनाव भएको बताउनुभएको थियो ।

सरकारमा पठाउने मन्त्री छान्न कांग्रेस र माओवादी केन्द्रमा जस्तै जसपा र एमालेको माधव नेपाल समूहभित्र पनि उत्तिकै लुछाचुँडी देखिन्छ । वर्तमान सरकार गठनमा मुख्य भूमिका खेलेका नेकपा एमालेको नेपाल पक्षको पछिल्लो भूमिकाले पनि मन्त्रिपरिषद्को पूर्णतामा ढिलाइ भइरहेको छ ।

एकातिर एमालेको नेपाल समूह आफूहरूको प्राथमिकता पार्टी एकता रहेकाले सरकारमा नजाने बताइरहेको छ भने अर्कोतिर सरकारमा जान दाउ खोजिरहेको त छँदैछ । मन्त्रालय र राजनीतिक नियुक्तिमा पनि हिस्सा खोजिरहेकै छ ।

कारण जे जस्तो भए पनि लामो समयसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारका काम प्रभावित भएका छन् । आमनागरिकमा निराशा छाएको छ ।