
काठमाडौं । कोभिड–१९ को संक्रमण र जोखिम कायमै रहेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा नरोक्ने भएको छ ।
स्वास्थ्य मापदण्ड पालना गर्दै स्नातक तह पहिलो वर्षको परीक्षा पूरा गर्ने रणनीतिमा विश्वविद्यालय लागेको छ । शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेसँग त्रिभुवन विश्वविद्यालयको परीक्षा के हुने भन्ने अन्योल भइरहेका बेला परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा नरोकिने स्पष्ट पार्नुभएको हो ।
सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै जोशीले व्यवस्थापन संकायको परीक्षा २२ गतेदेखि सकिएको र विज्ञान, शिक्षा संकायको परीक्षा आइतबारदेखि समाप्त हुने जानकारी दिनुभयो ।
बाँकी रहेको मानविकी र सामाजिक संकायमा परीक्षार्थी थोरै भएको र परीक्षासमेत लामो समय नभएकाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षाहरू सञ्चालन गर्न पनि उहाँले सम्बन्ध सबैलाई आग्रह गर्नुभएको छ ।
जोशीले अन्य वर्ष र कार्यक्रमहरूको परीक्षाको सन्दर्भमा अन्य निर्णय भएको बताउनुभयो । कोभिडको अवस्थाको आधारमा यसै महिनाभित्र छलफल गरेर अन्य परीक्षाको विषयमा निर्णय लिइने पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्