२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


१६ बर्षीय बालकले बचाए खोलामा बग्दै गरेका बालकको ज्यान, अभिभावकले गरे सम्मान


0
Shares

डीवि विष्ट

बझाङ । बझाङमा एक १६ बर्षीय बालकले १२ बर्षीय बालकको ज्यान बचाएका छन् । बझाङ जिल्ला सुर्मा गाँउपालिका-४ का ओकील बोहराका १२ बर्षिय छोरा जयराज बोहराको ज्यान सल्यान घर भै हाल बझाङको जयपृथ्वी नगरपालिका-१० मा बस्दै आएका १६ बर्षीय बालक लाल बहादुर पुन मगरले बचाएका हुन् ।

शनिबार दिउँसो बाउली खोलामा बनेको बसपार्क नजीकै पौडी खेल्ने क्रममा जयराजलाई खोलाले बगाएर झण्डै ४५० मिटर तल सेती नदी र बाहुली खोलाको दोभानमा पुर्याएको थियो ।

सेती नदी र बाहुली खोलाको दोभान नजिकै फुटबल खेलीरहेका १६ बर्षिया पुन मगरले खोलामा बग्दै गरेको अवस्थामा बोहरालाई देखेपछि खोलामा हाम फालेर ज्यान बचाएका हुन् ।

आफ्नो छोराको ज्यान बचाएको भन्दै बालकका अभिभावकले अविर दोसल्ला सहित सम्मान गरेका छन् । मगरको यो साहसिक कदमलाई सम्मान गर्दै सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहरा, यहाँका बद्धिजीवी, युवाहरुले समेत मगरलाई केही नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । ।