७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एउटा कुकुर मर्दा लाखौं मानिस भए दुःखी, यस्तो छ कारण


0
Shares

रोम, साउन १५ । इटलीमा एउटा कुकुरको मृत्यु भएपछि लाखौं मानिस दुःखी भएका छन् । उनीहरुले उक्त कुकुरप्रति भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उक्त कुकुरका मालिक फाबियानो इटोरले आफ्नो कुकुरको मृत्यु भएको जानकारी फेसबुकमार्फत दिएका हुन् । काओस नाम गरेको ‘जर्मन शेफर्ड’ जातको सो कुकुरको मृत्यु विषबाट भएको उनले जनाएका छन् । कसैले दिएको विषबाट आफ्नो कुकुरको मृत्यु भएको जानकारी उनले दिएका हुन् ।

फाबियानोले फेसबुकमा कुकुरको मृत्यु सम्बन्धी दिएको जानकारीलाई ६६ हजारभन्दा बढीले शेयर गरेका छन् । फाबियानोले फेसबुकमा कुकुरलाई सम्बोधन गर्दै लेखेका छन्, ‘त्यहाँ गएर पनि आफ्नो काम जारी राख्नू, हराइरहेका मानिसलाई खोज्नू र उनीहरुको जीवन बचाउनू ।’

वास्तवमा काओसले सन् २०१६ अगस्टमा इटलीमा गएको भूकम्पपछि उद्धारका क्रममा कयौं मानिसको ज्यान जोगाएको थियो । उसले भग्नावशेषमा पुरिएका मानिसको खोजीमा उल्लेखनीय भूमिका निर्वाह गरेको थियो ।

सोही कारण इटलीमा उक्त कुकुर निकै प्रशिद्ध भएको थियो । उसलाई कतिपयले ‘हिरो’ भन्ने गरेका थिए ।

शनिबार फाबियानोले फेसबुकमा आफ्नो कुकुर हराएको सूचना दिएका थिए । उनले काओसलाई कसैले देखेमा आफूलाई खबर गर्न आग्रह गरेका थिए ।

केही घण्टापछि उनले अर्को स्टाटस पोस्ट गर्दै काओसको मृत्यु भएको जानकारी दिए । उनले लेखे, ‘तिमीले दिन–रात एक गरेका थियौ, तिमी एक वफादार मित्र थियौ, मेरो मित्र ! दौड, नरोकिनू ।’

फाबियानाका साथ काओस मध्य इटलीमा बस्दै आएको थियो ।

काओसको मृत्युपछि फेसबुक र ट्वीटरमा लाखौं मानिसले श्रद्धाञ्जली अर्पणसहितका सन्देश दिएका छन् । (एजेन्सी)