
एजेन्सी । ग्रीसमा फैलिएको भीषण डढेलो पाँच दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र दर्जनौ हेलिकप्टरले प्रयास जारी राखेका छन् ।
डढेलोका कारण एक अग्नी नियन्त्रक सहित २ जनाको मृत्यु भइसकेको छ । डढेलोमा ५० भन्दा बढी घाइते भएका छन् । हाल ग्रीसका तीन वटा जंगलमा डढेलो फैलिएकोले नियन्त्रण गर्न कठिन भएको हो ।
आगलागीले हजारौं हेक्टरको जंगल जलेर नष्ट भएका छन् । अत्यधिक गर्मी तथा हावाका कारण आगो निभाउन कठिन भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
अग्नी नियन्त्रकहरुले ग्रीसका ६ क्षेत्रलाई उच्च सतर्कता क्षेत्रमा राखेका छन । हाल एथेन्सको उत्तरी क्षेत्रमा धुवाँको मुस्लो फैलिएको छ ।
डढेलोका कारण हजारौको संख्यामा स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा सरेका छन् । ग्रीसभर अहिले ६४ वटा जंगलमा रातको समयमा आगलागी हुने गरेको बताइएको छ ।
ग्रीसको इतिहासमा तीन दशक यताकै यो नै भीषण डढेलो हो । हाल त्यहाँको तापमान ४८ डिग्री पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्