१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सडक मर्मत नहुँदाको पीडा : सक्ने बिरामी हेलिकप्टरमा, नसक्ने मृत्यु कुर्दै


0
Shares

प्रकाश लिम्बु
तेह्रथुम । लगातारको वर्षाका कारण हिलाम्मे भएको सदरमुकाम जोड्ने एकमात्र म्याङ्लुङ–वसन्तपुर सडक मर्मत हुन नसक्दा त्यसको मारमा बिरामी र गर्भवती महिलाहरू परेका छन् । हिलाम्मे सडकमा यातायात सञ्चालनमा समस्या बढ्दै गएपछि तेह्रथुमबाट बाहिरी जिल्ला आउजाउका लागि समेत समस्या भएको हो ।

सडकको अवस्था नाजुक हुँदा बिरामीलाई उपचारका लागि लैजान महंगो भाडा तिरेर हेलिकप्टर चार्टर नै गर्नुपर्ने बाध्यता छ । तेह्रथुमको प्रमुख म्याङलुङ—वसन्तपुर सडक खण्ड हिलाम्य भएपछि अहिले जिल्लावासी थप उपचारका लागि हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन् ।

हुनेले जसोतसो हेलिकप्टरबाट बिरामीलाई बाहिर जिल्ला लगे पनि गरिबले मृत्युको कुर्नुको विकल्प छैन । जेठ अन्तिमदेखि सदरमुकाम जोड्ने सडक हिलाम्य हुँदा पनि मर्मतका लागि कसैले चासो देखाएका छैन । साना सवारी साधन सञ्चालन नआउँदा आफन्त बचाउन लाखौँ खर्चेर एयर एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश लिम्बुले बताउनुहुन्छ ।

सडकको अवस्था बिग्रिएपछि पटक–पटक हेलिकप्टरबाट बिरामी काठमाडौं लैजाने गरिएको छ । सडक सञ्चालनका लागि निर्माण व्यवसायीहरूले चासो नदिँदा लसुनेदेखि म्याङलुङसम्म साना सवारी साधनहरू सञ्चालन हुन सकेका छैनन् । जसका कारण साना सवारी लिएर यात्रा गर्ने बिच बाटोमै अलपत्र हुने गरेको स्थानीय मीननाथ दाहालको गुनासो छ ।

मध्यपहाडी लोकमार्गको बसन्तपुर–म्याङलुङ खण्ड अन्र्तगत म्याङलुङ जोड्ने सडक दुई लेन कालो पत्रे गर्न २ अर्ब ७ करोड रुपैयाँ विनियोजन भए पनि काम हुन सकेको छैन । सडककै कारण अहिले पनि कैयौं बिरामीको मृत्यु हुने गरेको स्थानीय बताउँछन् । सर्वसाधारणलाई मृत्यु कुर्न बाध्य बनाउने सडकमा यातायात सुचालु गर्न सम्बन्धित निकायले तत्काल काम गर्नुपर्ने देखिन्छ ।