१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


२ सय ८० किलोको ढुङ्गा नभेट्दा महाकाली पुल निर्माण प्रभावित


0
Shares

दुर्गा उपाध्याय
कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुललाई सुदूरपश्चिमकै विकासको मेरुदण्डको रूपमा हेरिएको छ । तोकिएको समयमै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको चार लेनको पक्की पुल निर्माणमा पछिल्लो समय विभिन्न समस्याहरू देखिएका छन् ।

पुलको डिजाइनमा उत्तरतर्फ दुवै किनार र पोखरीको बीचमा तीन/तीन वटा आइसल्यास राखिएको छ । पोखरी निर्माणका लागि २ सय ८० किलोभन्दा ठूलो ढुङ्गाले तटबन्ध लगाउनु पर्ने भएपनि अहिलेसम्म ढुङ्गाको प्रबन्ध हुन सकेको छैन ।

चार वर्ष बित्नै लाग्दा पनि पुल आयोजनाले ढुङ्गा उपलब्ध गराउन सकेको छैन । पोखरीको बीचमा राखिने आइसल्याण्ड बनाए पनि समयमै तटबन्ध निर्माण नहुँदा गत असार पहिलो साता आएको बाढीले पुलसँग जोडिएको पहुँच मार्ग तथा अन्य भौतिक संरचना भत्काएपछि साढे पाँच करोड बराबरको क्षति व्यहोर्नु परेको निर्माण कम्पनी कुमार सीएसईसी जेभीका म्यानेजर तथा इन्जिनियर किशोर पाण्डे बताउनुहुन्छ ।

ढुङ्गा नपाएका कारण पुलको डिजाइन नै फेर्नुपर्ने अवस्था भएको छ । तर, डिजाइन फेर्दा कंक्रिट वा तारजाली लगाउन सकिने भए पनि ढुङ्गाको तुलनामा कंक्रिट वा तारजाली प्रयोग गर्दा आर्थिक भार बढ्ने र टिकाउसमेत नहुने प्राविधिक बताउँछन् ।

दुई वर्षमा निर्माण सम्पन्न हुने गरी २०७४ भदौ ७ गते सम्झौता भएको पुल बन्द, हड्ताल, कोरोना तथा पुलको डिजाइनका कारण यसअघि दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो समय बाढीले संरचना भत्काएपछि पुल निर्माणको काम केही महिना पछाडी धकेलिएको इन्जिनियर पाण्डेको भनाइ छ ।

यता महाकाली पुल आयोजनाले भने ८० प्रतिशत काम भइरहेकाले पुल निर्माणको काम समयमै सकिने दावी गरेको छ । त्यसबाहेक ढुङ्गाको अभावले पोखरी निर्माणमा केही ढिलाइ हुने देखिए पनि गड्डाचौकी भन्सार कार्यालय र मध्यवर्ती वन क्षेत्रमा पर्ने रुख कटानको काम भए पुल निर्माणको काम समयमै सम्पन्न हुने महाकाली पुल आयोजनाका सुपरभाइजर दुर्गा अवस्थी बताउनुहुन्छ ।