१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महाधिवेशन नहुने भएपछि कांग्रेसमा संस्थापन इतर पक्ष आक्रोशित


0
Shares

अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसको भदौ १६ गते तय गरिएको १४ औं महाधिवेशन निर्धारित समयमा नहुने निश्चित भएपछि रामचन्द्र पौडेल पक्ष आक्रोशित बनेको छ । महाधिवेशनको मिति सार्ने तयारी भएको सुइँको पाएपछि यो पक्ष आन्तरिक छलफलमा जुटेको हो । छलफलमा आफू पक्षीय जिल्ला सभापतिहरूलाई सहभागी गराइएको छ ।

सत्तारुढ गठबन्धनले आइतबार अपरान्ह साझा कार्यक्रम सार्वजनिक गर्‍यो । त्यसको २४ घण्टा नबित्दै सोमबार विहान सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जालमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको उछितो काढ्नुभयो ।

सामाजिक सञ्जालमार्फत पौडेलले निर्धारित समयमा महाधिवेशन गर्न नसक्ने परिस्थिति सिर्जना गरेर पार्टीलाई भिख माग्ने अवस्थामा पु¥याएको आरोप लगाउनुभयो ।

सोमबार नै संस्थापन इतर जिल्ला सभापतिहरूको भेला काठमाडौंमा सुरु भयो । पार्टीको १४ औं महाधिवेशनको सुनिश्चितता र त्यसको लागि क्रियाशील सदस्यता विवादबारे छलफल गर्न बैठक गरिएको सहभागीको भनाइ छ ।

संगठनलाई सुदृढ र गति दिन तथा सक्षम नेतृत्व ल्याउने सन्दर्भमा भेलामा छलफल भएको काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानियाँ बताउनुहुन्छ । छलफलपछि पार्टी सभापति र शीर्ष नेताहरूलाई सुझाव दिने उहाँको भनाइ छ ।

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला संस्थापन इतरका जिल्ला सभापतिले सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दवाव दिने एजेण्डा बनाएका छन् ।

‘जनअपेक्षा अनुसारका काम गर्न सरकारलाई सुझावको सन्दर्भमा छलफल केन्द्रीत हुनेछ,’ बानियाँ भन्नुहुन्छ, ‘महामारीको अवस्थामा हिजोको सरकारले गर्न नसकेको कामहरू अहिलेको सरकारले गर्नका लागि पार्टीको तर्फबाट गर्नुपर्ने सहयोग र सुझावको सन्दर्भमा छलफल गर्नेछौं ।’

क्रियाशील सदस्यताका सम्बन्धमा संस्थापन इतर पक्षले अन्य पार्टीबाट प्रवेश, समायोजन भएकाहरूलाई दिइएको क्रियाशील सदस्यता र वडा तहबाट सिफारिस नभएकाको सम्बन्धमा असहमति जनाउँदै आएको छ ।