१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्मचारी बलात्कारका आराेपी ‘अलिबाबा’का म्यानेजर बर्खास्त


0
Shares

काठमाडौं । चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी अलिबाबाले बलात्कारको आरोप लागेको एक म्यानेजरलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी ड्यानियल चाङ्गले कर्मचारीलाई पठाएको पत्रमा बलात्कारको घटनामा कारबाही गर्न असफल अन्य दुई कर्मचारीले पनि राजीनामा दिएको उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

आफू रक्सीको नशामा बेहोस भएको अवस्थामा म्यानेजरले होटलको कोठामा बलात्कार गरेको कम्पनीमा कार्यरत महिला कर्मचारीको आरोप छ । महिलाको आरोपपछि चिनियाँ सामाजिक सञ्जालमा यसको विषयमा व्यापक चर्चा भएको छ ।

प्रमुख कार्यकारी चाङले कर्मचारीलाई पठाएको पत्रमा म्यानेजरले महिलालाई बलात्कार गरेको स्वीकार गरेको उल्लेख गरिएको छ । उक्त पत्रमा भनिएको छ, ‘उसलाई कहिल्यै पनि नियुक्त नहुनेगरी बर्खास्त गरिनेछ, उनले बलात्कार गरे वा गरेनन् भन्ने विषयको निर्क्यौल कानुनले गर्नेछ ।’

पत्रमा कम्पनीले पीडित महिलाको जिम्मेवारी लिने विषयसमेत समेटिएको छ । लेखिएको छ, ‘हामी उनको ख्याल राख्नका लागि गर्नुपर्ने सबै काम गर्नेछौँ ।’ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने अलिबाबाले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ ।

बलात्कारपछि महिलाले ११ पेज लामो पत्र लेखेर कम्पनीलाई जानकारी गराएकी थिइन् । चिनियाँ सामाजिक सञ्जाल वीबोमा यसको व्यापक चर्चा भइरहेको छ । म्यानेजरले एक क्लाइन्टसँग भेट्ने कुरा गर्दै जिनान शहरमा लगेको थिए । जुन अलिबाबको मुख्यालयभन्दा ९ सय किलोमिटर टाढा हो ।

डिनरको समयमा म्यानेजरले रक्सी खानको लागि दबाब दिएको महिलाद्वारा लगाइएको आरोपपत्रमा उल्लेख छ । साँझ चार बजे म्यानेजर आफ्नो कोठामा आएको उनको आरोप छ ।