१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसईई नतिजा : प्रमाणपत्र आकर्षक, सिकाइ उपलब्धि शून्य


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । भनिन्छ, नेपालका शैक्षिक संस्थाहरूले बेरोजगार उत्पादन गर्छन् । आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा सार्वजनिक गरिएपछि माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा उत्कृष्ट भएको त देखाउँछ ।

तर, के आकर्षक प्रमाणपत्रले शून्य सिकाइ उपलब्धिलाई ढाकछोप गर्न सक्छ ? हामी कस्तो जनशक्ति उत्पादन गर्दैछौँ भन्ने प्रश्न झन् पेचिलो बनेर आएको छ ।

विद्यालय तहको अन्तिम परीक्षा गराउने, प्रमाणिकरण गर्ने र विद्यार्थीको हातमा प्रमाणपत्र उपलब्ध गराउने जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डको हो । संघीय शिक्षा ऐन बनेर नयाँ व्यवस्था लागू नभएसम्म बोर्डको दायित्व कायम रहनेछ ।

२०७७ सालको एसईई परीक्षाफल विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा सार्वजनिक गर्न मन्त्रिपरिषद्ले नै बाटो खोलिदियो । गत वर्ष झैँ यस वर्ष पनि मन्त्रिपरिषद्कै अनुमतिको मोडल अपनाउँदा बोर्डले परीक्षाफलको अपनत्व लिनै सकेन । त्यसैले त बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल असन्तुष्ट हुनुहुन्छ ।

‘यसैगरी राजनीतिक निर्णय रहने हो भने निरक्षर मान्छेले माध्यमिक तहको प्रमाणपत्र प्राप्त गर्छ,’ उहाँले भन्नुभयो, ‘बोर्डलाई पूर्ण अधिकार दिएर काम गर्न दिनुपर्छ, काम गर्न नसके कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

आफ्नो कार्यक्षेत्र खोसिँदा बोर्ड चिढिनु स्वाभाविक हो भएको शिक्षाविद् प्रा.डा. बासुदेव काफ्ले बताउनुहुन्छ । ‘शिक्षा मन्त्रालयले अनाधिकृत रुपमा हस्तक्षेप गरेकै हो’, उहाँ भन्नुहुन्छ, ‘कि संघीय शिक्षा ऐनले राजनीतिक निर्णयको विषयमा बोल्नुपर्छ होइन भने यसरी हस्तक्षेप गर्नुहुँदैन ।’

हरेक विषयको तीन घन्टे भौतिक परीक्षा बन्द गरेर आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा सार्वजनिक गर्दा प्रश्नहरू उठेका छन् । २०७५ सालको इसईईमा १ सय ६ जनाले जीपीए ४ ल्याएकोमा आन्तरिक मूल्याङ्कन गर्दा ०७६ सालमा नौ हजार तीन सय १९, ०७७ सालमा ८ हजार चार सय ४५ जनाले जीपीए ४ ल्याए ।

विद्यार्थीले पढे पनि पास नपढे पनि पासको अवस्था आएको तथा विद्यालय र शिक्षकले आफ्नै हात जगन्नाथ गरेको शिक्षाविद् काफ्लेको बुझाइ छ । पछिल्लो दुई वर्षमा शिक्षक र विद्यालयले गरेको मूल्याङ्कनले शिक्षा प्रणालीमै प्रश्न उठेको उहाँ बताउनुहुन्छ ।

निजी विद्यालयको त मनोमानी हुने नै भयो । सामुदायिक विद्यालयले आफ्नो प्रतिष्ठा जोगाउन र संस्थागत विद्यालयले माथिल्लो कक्षामा विद्यार्थी आकर्षण गर्न नतिजा उत्कृष्ट देखाउने होडबाजी गर्दा कागजमा प्रमाणपत्र आकर्षक देखिन्छ । तर, व्यवहारिक सिकाइ उपलब्धि शून्य हुने अवस्था आउन सक्नेतर्फ चिन्तित हुनु पर्ने देखिन्छ ।