
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवादमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्ले बनाएको समितिले आफ्नो काम सुरु गरेको छ ।
समितिले आज चार जनालाई बयानका लागि बोलाएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवाद बढेपछि एन्फाकै आग्रहमा युवा तथा खेलकुद मन्त्रालय हुँदै खेलकुद परिषद्ले छानबिनको जिम्मेवारी पाएको हो ।
बयानका लागि १२ जनालाई पत्र काटिएकोमा पहिलो दिन आज चार जनालाई बोलाइएको स्रोतले जनाएको छ । प्रशिक्षक अब्दुल्लाहले वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण काम गर्न अप्ठेरो परेको भन्दै राजिनामा दिने घोषणा गरेपछि एन्फाको आन्तरिक विवाद छरपष्ट भएको थियो ।
यही विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको हो । समितिले आज एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्व प्रवक्ता किरण राई, उपाध्यक्ष कृष्ण थापा र राखेपकी फुटबल चिफ कोच अरुणा गुरुङसँग बयान लिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्