
काठमाडौं । संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ । यी दुईवटै विधेयक राष्ट्रिसभाबाट उत्पत्ति भएका हुन् ।
आजै बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुहुनेछ ।
‘प्रत्यायन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि आजको बैठकमा पेश हुने कार्यसूची छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव पनि आजको बैठकमा पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्