
काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरूद्ध सत्तारूढ दल नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
यसअघि आइतबार कानुन व्यवसायी प्रवेश केसीले विशेष अधिवेशन रोक्न माग गर्दै पेश गरेको रिट सर्वोच्चले दरपीठ गरिदिएपछि हिजो एमालेका सांसदले रिट दायर गरेका थिए ।
प्रदेश प्रमुख कार्यालयलाई विपक्षी बनाएर सत्तापक्षका तर्फबाट सांसद लिला गिरीले विशेष अधिवेशनविरूद्ध रिट दायर गर्नुभएको हो ।
दायर गरिएको रिट सर्वोच्चमा दर्ता भइसकेको र आज पहिलो सुनुवाइको लागि पेसी चढ्ने एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।
एमालेले संविधानको धारा १६८ को १ अनुरूप बनेको सरकार र मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने भन्दै विशेष अधिवेशन रोक्नुपर्ने माग गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
सोही अनुरूप प्रदेश प्रमुखले अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्