१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा हतियारसहित वडाध्यक्ष पक्राउ


0
Shares

बिराज रोस्यारा
कैलाली । जिल्लाको कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरी सहित दुई जना हतियार सहित पक्राउ परेका छन् ।

सोमबार राति कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर स्थित पूर्व–पश्चिम राजमार्गबाट धनगढी उपमहानगरपालिका– २ का ४६ वर्षीय मोहित शाहले चलाइरहेको बा १७ च १३१२ नम्बरको जीप चेकजाँच गर्ने क्रममा हातहतियार फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

हातहतियार फेला परेपछि प्रहरीले चालक शाहसहित सोही जीपमा सवार कैलारी गाँउपालिका–९ का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो । जीपमा धनगढी उपमहानगरपालिका–१ का ४६ वर्षीय रुपक मल्ल र कैलारी गाउँपालिका–९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

प्रहरीले शाहको साथबाट १२ बोर एक थान, कार्टिज १ थान, त्यस्तै वडाध्यक्ष चौधरीको साथबाट पोईन्ट टु टु १ थान र १० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजाना शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको उहाँले बताउनुभयो । वडाध्यक्ष चौधरी यसअघि पनि वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए । वनसम्बन्धी मुद्दामा उनी महिनौं दिनसम्म फरार थिए ।