३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


काेभिडकाे उच्च जाेखिममा बालबालिका, साउनमा मात्रै ५ हजार बढी संक्रमित


0
Shares

प्रज्ञा तिमल्सीना
काठमाडौं । चार सातादेखि लगातार कोरोना संक्रमितको संख्या बढेसँगै २० वर्ष मुनिका बालबालिका संक्रमित हुने क्रम पनि बढ्दो छ । साउन महिनाभित्रै ५ हजार भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् । दिनहुँ आउने संक्रमितको कुल संख्यामा १० प्रतिशत बालबालिका नै छन् ।

साउन महिनाको यो अवधिसम्ममा नेपालमा ७० हजार व्यक्तिमा कोरोना संक्रमण देखियो । संक्रमितको संख्या बढेसँगै बालबालिकामा संक्रमण देखिने क्रम पनि धेरै देखिएको छ । यही साउन १ गते यता १० वर्ष मुनिका १ हजार ४ सय बालबालिका संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । यस्तै ११ देखि २० वर्ष उमेर समूहका ४ हजार बढी बालबालिका संक्रमित भएका छन् ।

पहिलो र दोस्रो लहरमा युवा तथा जेष्ठ नागरिक धेरै संक्रमित भएकोमा तेस्रो लहरमा धेरै बालबालिका संक्रमित हुने प्रक्षेपण गरिएको छ । बालबालिकाले खोप लिन नपाएकाले उनीहरूमा जोखिम देखिएको मन्त्रालय बताउँछ । बालबालिका सबैसँग घुलमिल हुने र अहिलेसम्म खोप नलगाएका कारण उनीहरूमा संक्रमणको जोखिम उच्च रहेको मनत्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताउनुहुन्छ ।

नेपालमा हालसम्ममा २० वर्ष मुनिका ६६ हजार ८ सय ६ जना बालबालिकामा कोरोना संक्रमण देखिसकेको छ । जसमा १७ हजार त १० वर्ष मुनिका छन् । बढ्दो भिडभाड र चलायमान जनजीवनका कारण संक्रमितको संख्या केही बढेको विज्ञहरूको ठम्याइ छ । डेल्टा भेरियन्ट संक्रमितकहरूनै धेरै देखिएकाले अहिले संक्रमा कोभिडको दोस्रो लहरभित्रै पर्ने विज्ञहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ पछि तेस्रो लहर सुरु हुने प्रक्षेपण गर्दै आगामी मंसिर महिनासम्ममा २ लाख नयाँ संक्रमित थपिने जनाइसकेको छ । यो अवस्थामा खोप पहुँचमा नपरेका १८ वर्षमुनिका बालबालिकाको स्वाथ्यमा विशेष ख्याल राख्नु जरुरी देखिन्छ ।

१८ वर्ष मुनिका बालबालिकाका लागि फाइजरको खोप तेस्रो लहर सुरु हुने बेलासम्ममा नेपाल आइपुग्ने सम्भावना कम देखिएकाले जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ, भिडभाडमा जान नदिनु र सामाजिक दूरी कायम राख्नु नै बालबालिकालाई जोगाउने उत्तम उपाय हुनसक्छ ।