१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रशिक्षक अल्मुताइरी अनुशासनको दायराभन्दा बाहिर गए– पूर्वप्रवक्ता राई


0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायरा भन्दा बाहिर भएको बताउनुभएको छ ।

फुटबल विवाद छानविनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मंगलबार बयान दिएर बाहिर निस्कने क्रममा पूर्व प्रवक्ता राईले प्रशिक्षकको अभिव्यक्ति अनुशासनभन्दा बाहिर भएको बताउनुभएको हो ।

एक साताअघि एन्फामा बसेको आकस्मिक कार्यसमितिको बैठकबाट प्रशिक्षक र उपाध्यक्षको घटना छानबिनका लागि एन्फाले खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । सोही आधारमा खेलकुद मन्त्रालयले राखेपलाई समिति गठन गरेर छानविन गर्न निर्देशन दिएको थियो ।

उहाँले भन्नुभयो, ‘प्रशिक्षकले संस्थाका उपाध्यक्षलाई लगाउनुभएको आरोप अनुशासन भन्दा बाहिर गएको जस्तो मलाई लागेको छ, प्रशिक्षकबाट त्रुटी भएजस्तो लाग्छ मलाई ।’

तर, एन्फा प्रवक्ता किरण राईले एन्फामा आफ्नै छानविन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम नभएको भन्दै तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर भएको भन्दै पदबाट राजीनामा दिनुभएको थियो । यद्यपि बयानका लागि बोलाइएका प्रवक्ता किरण राईले सत्य तथ्य, कुनै पनि पक्षमा नलाई, आफ्नो दृष्टिकोणमा जे सही थियो सोही बयान दिएको बताउनुभयो ।

एन्फा पूर्व प्रवक्ता राईले भन्नुभयो, ‘एन्फामा आफ्नै छानविन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम भएन, तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर हो ।’

छानविन समितिले मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग पनि बयान लिएको थियो । समितिले घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १४ जनासँग बयान लिने सूची तयार पारेको छ । सूचीमा घटनामा प्रत्यक्ष संलग्न वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक पनि रहेका छन् ।

प्रशिक्षक अलमुताइरी भने पोखरामा रहेका छन् । मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखे संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिलाई ७ दिनभित्र छानविन प्रतिवेदन बुझाउन खेलकुद मन्त्रालयले निर्देशन दिएको थियो ।