
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने आफ्नो फैसलामा कुनै पनि पश्चाताप नभएको बताउनुभएको छ ।
तालिबानले लगातार अफगास्तिानको प्रान्तिय राजधानी कब्जा गरिरहँदा अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो ।
मंगलबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकाले अफगानिस्तानलाई गरेको प्रतिबद्धता पूरा गरिरहेको बताउनुभयो ।
अफगानिस्तानले अझै पनि हवाइ सहायता प्रदान, अफगानी सैनिकको तलब भुक्तान र सैनिकलाई भोजन र उपकरणको आपूर्ति गरिरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘उनीहरू आफ्ना लागि लड्नुपर्छ ।’
बाइडेनले अफगानिस्तानका नेतालाई एकजुट हुँदै आफ्नो राष्ट्रका लागि लड्न आग्रह गर्नुभएको छ । २० वर्षको सैन्य अभियानपछि अमेरिकी नेतृत्वको सेना देश फर्किएसँगै तालिबानले अफगास्तिानमा आक्रमण बढाएको थियो ।
तालिबानले अहिलेसम्म देशका ३४ मध्ये ८ वटा प्रान्तिय राजधानी कब्जा गरिसकेको छ भने बाँकी पनि कब्जा गर्ने चेतावनी दिँदै आक्रमणलाई निरन्तरता दिइरहेको छ । तालिबानले मंगलबार मात्रै राजधानी काबुलबाट २ सय किलोमिटरको दूरीमा रहेका दुई प्रान्तिय राजधानी कब्जा गरेको छ ।
अफगानिस्तामा गत एक महिनामा भएको तालिबान र अफगानी सेनाको भीषण लडाइँमा परेर १ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।
लडाइँका बीच बालबालिकाका लागि काम गर्दै आएको एजेन्सी युनिसेफले बालबालिमाथि हुने अत्याचार दिनादुदिन बढिरहेको जनाएको छ ।
अफगानिस्तानमा अझै पनि लडाइँ जारी छ । बाँकी रहेका अमेरिकी सेना र अफगानी सेनाले हवाइ आक्रमणलाई निरन्तरता दिएको छ । लडाइँ बढेसँगै स्थानीयले घर छाड्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्