
संजिव कार्की
कसैलाई खसाल्न सजिलो छ । व्यवस्था परिवर्तन गर्न पनि सजिलो छ । व्यवस्था परिवर्तन आफैमा सहज होइन यद्यपि जुन रफतार र शैलीमा व्यवस्था परिवर्तनका लागि आन्दोलन र घटना परिघटना भए । ठूल्ठूला र आम मान्छेले कल्पना गर्दा समेत डर मान्ने तन्त्र, राजतन्त्र बिस्थापन भयो । सो मुताबिक अवस्था परिवर्तन अर्थात प्रवृति परिवर्तनमा दल र नेताकार्यकर्ता पटकपटक चुकेको कारण व्यवस्था परिवर्तनमा महारथ प्राप्त गर्नेहरु सत्ता चलाउने सीप र ल्याकत देखाउन असमर्थ भएर निरन्तर गाली खाइ रहेछन् । अपमानित भै रहेछन् । जति गाली गरे पनि अपमानित बने पनि यिनको दरो र भर्पर्दो विकल्प अरुले दिन नसकेको विश्वास आर्जन गर्न नसकेको कारण विगत तीस वर्ष देखि प्रायः दुइटा पार्टी काङ्ग्रेस र कम्युनिस्टहरु सत्तामा आलोपालो सयर गर्ने भाग्यमानी बनेका छन् ।
अरु नयाँ पार्टी बन्न र विश्वास आर्जन गर्न कति समय लाग्ने हो ? सत्ता गतिलो नहुँदा प्रतिपक्षी गतिलो हुनुपर्छ तर यहाँ निर्गतिलो बन्ने होडबाजी सात्ता र प्रतिपक्षी दुवैको देखिन्छ । कुन असल र ल्याकत भएको छुट्याउन मुस्किल पर्छ । ओलीको चरम असफलता देखि निरास भएका जनतालाई ओली फालेर पनि आशा जगाउने अर्को प्रधानमन्त्री नपाउनुको बिडम्बना बोकेर बस्नु परेको छ । ओलीलाई अहमको शिखरबाट पछार्दा पनि अर्को सत्पात्र भनौ सामान्य भए पनि देखाउन मिल्ने पात्र छनौट गर्न नसकेर पटकपटक असफल भएका र थुप्रै लान्छना लागेका विकृति भित्र्याएका र विकृतिलाई काखी च्यापेका देउवाको शासन खप्नु पर्ने घनघोर आश्चर्य छ । ओलीलाई नफालि पनि भएको थिएन फाल्नु नै थियो तर ओलीलाई फालेर जसलाई ल्याइयो त्यो केवल संवैधानिक बाध्यता मात्रै हो आम मान्छेको रुचि चाह र उनको क्षमताको सम्मान होइन । परिबन्ध र बाध्यताको स्वरुप यस्तो भएर नै होला बाध्यकारी स्थिति भनेको निर्लज्ज हुँदा पनि चुप लाग्नु पर्ने, सहनु पर्ने,परिस्थितिलाई दोष थुपारेर आफू बच्नु पर्ने ।
ओलीलाई गलहत्याएर देउवालाई प्रतिस्थापन गर्नु पर्दा प्रचण्ड, माधव र तिनका अनुयायीले दिने जबाफ के ? यही होइन त बाध्यताको पासो । उनको शेखी झार्नकै लागि माधव समुहको विद्रोह ? ओलीलाई सत्ता सुखबाट बन्चित गर्नु नै एकमात्र उद्देश्य ? कति टीठलाग्दो र घीनलाग्दो राजनीतिको चपेटामा छ हाम्रो राजनीति ? यहाँ लाज घीन सरम र नैतिकता च्युत भएको छ । केवल बाँकी छ स्वार्थको नमिठाे गन्ध । हराएको छ सिद्धान्त र चोरिएको छ नेपालीत्व । बन्धकी बसेको छ ईमान कसैको जुठ्यौनामा । यहाँ चोर चोर मिलेर ईमानदारको नाटक प्रदर्शन गर्छन् । चोरहरुको इमानदारीता नचोरुन्जेल मात्रै हो । चोरीको सामान भाग लाउने बेला झगडा पर्छ । अहिले त्यस्तै झगडाको मारमा परेर देशले पुग्दो मन्त्री समेत पाएको छैन भने अरुको के कुरा ?
सत्ता र प्रतिपक्षी आज तमासा देखाउन लागेका छन् । आफू ४१ महिना प्रधानमन्त्रीको कुर्सीमा अनुकुल अवस्थामा बसेका प्रधानमन्त्री आफूले माखो मार्न नसकेका विषयमा आज सरकारलाई तेज तरार प्रश्न सोध्ने भाछ्न । उनलाई के हेक्का छैन भने यी सब आफ्नो कार्यकालमा किन भएनन या कसले हात बाँधिदियो काम गर्न ? सत्ता च्युत हुनुको आवेग इश्र्या र कुन्ठा ओलीले गज्जब अभिनय गर्दै पोखे र उनका अनुयायीहरुले हात दुख्ने गरि ताली पनि ठाेेके तर यी सब जे भए जति भए। दुई तिहाई नजिकको सरकार गिर्यो त्यति ठूलो पार्टी चिरा चिरा र छिन्नभिन्न भयो त्यो सब कारणको पछाडी ओलीको निति र प्रवृतिले भरपुर काम गरेको छ भनेर सम्झाइ दिने उनका आफ्ना भन्ने सँग ह्याउ छैन तसर्थ ओली बर्बराउँछ्न, चिच्याउछ्न, रुन्छ्न, कराउँछ्न । सबै अर्कोका कारण भएको म पानी माथिको ओभानो भन्छन् यस्तो तरिकाको नियति दुर्दान्त बन्दै जान्छ । ओलीसँगै अरुको भविष्या पनि धुलिसाथ हुँदै जान्छ । ओलीले संसदमा आफ्नो सम्बोधनमा जुन जुन विषय छोए ती सबै उनको पालामा नै छोइनु पर्ने समाधान हुनुपर्ने र सम्बोधन गर्नुपर्ने विषय थिए कि थिएनन ? त्यो उनको आफ्नो अकर्मण्यता र असफलताप्रति आफैलाई गरिएको प्रश्न र व्यङ्ग्य पनि थियो क्यारे ? उनले अरुको निन्दा र चर्चा गर्न आरोपित गर्न जुन जुन शव्द खर्च गरे ती सबले उनलाई पनि उत्तिकै उपहास गरेर गिज्याए झैं लाग्थ्यो ।
आत्म प्रंशसा र बखान आफ्नो गरेर अरुलाई दोषको सबै पगरी गुथाउने शासकीय शैली र निरंतरता हो त्यसमा नि ओलीले भेटेको के छोडथे अरु भन्दा चौखण्ड बढी बढाइ चढाइ उनको मौलिकता नै हो । धरहरा, रानी पोखरी र मेलम्ची भनेर ओलीलाई आफ्नो पालाको विकास भन्नू परेको छ । उनको पालामा तयार हुनु र उनले नै बनाउनु फरक कुरा हुन । साँढे तीन वर्षको देश विकासको मानक र उदाहरण नै धरहरा र रानीपोखरी मात्रै हो त ? आफूले बोलेको कति पूरा गरे ? आफूले देखाएको सपनाको कति भाग पूरा भयो त्यो हेरे पुग्छ ? ओलीले रानी पोखरी, धरहरा र मेलम्ची भत्काइ दिए हुन्छ भनेर गीत गाउँदा अरुले रेल तेल र ग्यास बारे ठट्टा गर्न पाउने कि नपाउने ? अर्काको आङको जुम्रो देख्दा आफ्नो आङको भैसीलाई छोप्ने कला नि चाहिन्छ होइन र ?
आम मान्छेले शेर बहादुर बाट कुनै नवीन आशा गरेका छैनन् । तर आस गरेको र त्यत्रो भर गरेको मान्छेले पार्टी मिलाउन सक्नु भएन देश मिलाउन कसरी सक्नु ? आफैले दुई-दुई पटक हत्या गरेको संसदमा उभिएर बोल्न अलिकति सरम पनि लाग्नु पर्थ्यो त्यो लागेन तर क्षमा माग्दै बोल्नु पर्नेमा उल्टो उत्तेजना र बर्बराहट ? कुनै कुनामा पनि गल्ती र पश्चताप नदेखिनु अहमताको परिचय हो । पख्लास देख्लास भोलि मेरो नि दिन आउँछ्न हरुवा दाउको मनोविनोद हो , राजनीतिज्ञको भाषा होइन । एउटा कुरा सत्य हो प्रतिपक्षी दरो खरो र भयानक हुनुपर्छ । तर आफूले काम गर्ने बेला र उत्तर दिने बेला जबाफदेही बन्न नसक्ने भुइँमा पछारिए पछि चै धाक र धम्की सुहाउँदो लाग्दैन रैछ । पंचायत व्यवस्था देखि वैदेशिक ऋण धेरै भनेर बिरोध गर्दै आएका ओली र आजको उनको पालामा किन यति धेरै तीन वर्षमा कसरी यति उत्पात र आजसम्मको रेकर्ड ब्रेक गर्ने गरि भयो त्यसको उत्तर पनि त मान्छेहरुले खोज्छन् भन्ने कुरा ओली महोदयलाई थाहा नभएको हो र ? मलाई सत्ताको लोभ छैन कुन मुख र त्यागले ओलीले यसो भन्न सक्नु भएको हो ? ताली पिटने संसदहरुलाई भित्री मनमा के लाग्यो कुन्नि ? ओलीको आक्रोश र आक्रमण पक्कै पनि आफू भित्र बलेको प्रतिशोधको ज्वाला थियो र हो भन्ने जान्न कसैलाई मुस्किल पर्दैन यही शैली र औकातले असाधारण बहुमत र ठूलो दलको रूपमा आउने सम्भावना न्यून भए पनि हामीले अभ्यास गरेको चुनाव प्रणाली र एकल पार्टीले बहुमत ल्याउने र थेग्ने सम्भावना कम भएको अवस्थामा सानो दल नै भए पनि र आफूले संसदीय निर्वाचनमा जित्न सके संसदको अंक गणितमा खेल्ने संयोग बन्दा प्रधानमन्त्री हुने ओलीको अर्को सम्भावना भने नकार्न सकिन्न ।
हिजो काम गर्ने ठाँउमा हुँदा नि काम कम बढी बोली गर्नु भो । आज त काम नै बोल्ने र खोट देखाउने हो । बालकोटकाे बार्दलीमा बसेर बोल्नु भन्दा संसदमा अभिनय गर्दै बोल्नुमा बढी मजा छ । ओलीले त्यही गर्नु भयो । ओलीलाई बा भनेर सम्बोधन गर्नेले पढ्न सकुन र ओलीको यो हाल किन भयो यसो यसलाई सामान्य आख्यानी करण गरेको छु । बाले ऊ बेला काकाहरुलाई घर भित्र पस्न दिनु भएन। जस्केलाबाट घर भित्र चिहाउन खोज्दा पनि आँखा झिकिदिने धम्की दिनु भयो । छिंडीमा पनि बस्न अबरोध गर्नु भयो । पिँढीमा बस्न पाउँ भन्दा नि लखेटेर हैरान पार्नु भो । बाख्राको र कुखुराको खोरमा थुनिदुन्छु भनेर पनि मुख लाग्ने केटाकेटीलाई तर्साउनु भो । झन माधव काकालाई बालुवाटार काण्डमा जाकिदिने र प्रचण्ड काकालाई क्यान्टाेनमेन्टको फाइल अख्तियारलाई खोल्न लाउने भनेर बारम्बार थर्काउनु भयो रे । बालाई सम्झाउने, बुझाउने घुर्क्याउने, धम्काउने जे गर्दा पनि बाले आफ्नो धर्म निभाउन सक्नु भएन तव दिक्क भएर छिमेकीको सहारा र बल बुताले काकाहरुले बाको जनैको साँचो खोसेर ढुकुटीमा पस्नबाट बन्चित गरेर पल्ला घरे ठुल्दाईलाई भँडारे बनाए । तब बा बार्द्लीमा बसेर बेस्सरी बर्बराउनु भयो । आज ढुकुटीको ढोकामा बसेर बेस्सरी रुँदै हुनुहुन्छ । मलाई नि बाको औधी माया लाग्यो । बाले धेरै कुरा गर्नु भएको रहेछ । आफ्नै भाइ छोरा बिभीषण बनेर बालाई लखेटेर बिजोग पारे । बा अहिले विक्षिप्त मुद्रामा धारेहात लाउँदै बर्बराउँदै हिंड्नु हुन्छ । स्मरणीय छ यी सब बालाई मेरो कारणले भएको भन्ने आज सम्म अलिकति पनि चेत छैन र बाका चाकरहरुले यो सम्झाउने आँट पनि गर्दैनन् । बाको दुर्गती र एमालेको यो हालको कारण र अन्तर्य यही हो । बाको चेत फिरेन । संसदमा उभिएर बाले दाइलाई देख्लास र पख्लास भन्नू भो दाइ मज्जाले सुनेर बस्नु भयो । यद्यपि पूर्व प्रधानमन्त्री ओली र आधा एमाले नेताले प्रतिपक्षी हुनुको आभास चै दिनु भएको छ । दाइले जे सुन्नु भयो त्यो गर्नु हुन्न दाइका थुप्रै बाध्यता र अप्ठ्यारा छ्न । आम मान्छेको चाह यति छ दाइले केही नगरे नि चुनाव चै गराइ दिए हुन्थ्यो । हेरौ दाइ , बा र काकाहरुको छिनाझम्टिमा देश कतिन्जेल दुख्ने हो ? दाइ र काकाहरु पनि सत्ता बाँडचुडकाे लुछाचुडिमा व्यस्त छन ।।
प्रतिक्रिया दिनुहोस्