
काठमाडौं। काठमाडौं महानगरपालिकाले थप दुई वटा नगरपालिकासँग अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ ।
राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाले प्रदेश नम्बर–१ को पाख्रीबास नगरपालिका र सुदुरपश्चिम प्रदेशको अमरगढी नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको हो ।
ती दुई नगरबीच गरेको समझदारी पत्रमा काठमाडौँ महानगरपालिका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गर्नुभयो भयो । त्यसैगरी अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गर्नुभयो ।
सात प्रदेशका सात स्थानीय तहसँग अन्तर स्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने योजना अनुसार यस अघि नै काठमाडौँ महानगरपालिकाले कर्णालीको चन्दननाथ, बागमतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।
हितैषी तथा मैत्रीपूर्ण सम्वन्ध मार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरहरुकाबिच भगिनी सम्वन्ध स्थापनाको अभियान अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
समझदारी पत्रमा हस्ताक्षसँगै काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ पार्क निर्माण गर्न १ करोड ५० लाख सहयोग सम्झौता गरेको छ ।
त्यसैगरी अमरगढी नगरपालिकाको वडा नम्बर–२ र ५ मा अवस्थित अमरगढी पार्क निर्माणका लागि पनि १ करोड ५० लाख सहयोग गरेको छ । ४ सय ५० रोपी क्षेत्रफल रहेको सो पार्क निर्माणका लागि सहयोग गरेको महानगरपालिकाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्