१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पौडेल पक्षले सभापतिविरुद्ध गलत प्रचार गरेको भन्दै डा. महतको आपत्ति


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिनेगरी प्रचार गरेको भन्दै आपत्ति जनाउनुभयो ।

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सह–महामन्त्री महतले पार्टी सभापति देउवा सधैं पदमा रहिरहन खोजेको सन्देश दिने गरी बाहिर प्रचारबाजी गरिएकोमा आक्रोश पोख्नुभयो ।

महतले भन्नुभयो, ‘मैले नबुझेको, भित्र एउटा बहस हुने तर बाहिर पार्टी सभापति सोही पदमा बसिरहन खोजेको भन्ने जस्तो गलत सन्देश जाने खालका प्रचार भइरहेको छ । यो दूर्भाग्यपूर्ण कुरा हो ।’

सह–महामन्त्री महतले पूरानै प्रतिनिधिबाट महाधिवेशन गर्ने कुरा कसरी वैधानिक हुन्छ ? भनि प्रश्न पनि गर्नुभयो । पूरानै प्रतिनिधिबाट पार्टीको केन्द्रीय कार्य समिति चयन गरौँ भन्ने पौडेल पक्षको प्रस्ताव आफैंमा वैधानिक नहुने उहाँको तर्क थियो ।