१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यस्ता थिए त्रिभुवनदेखि पारससम्मले चढेका गाडी, वीरेन्द्रकाे गाडीमा राष्ट्रपतिकाे सवारी


676
Shares

गृष्मा राजभण्डारी
काठमाडौं । इतिहासले नासोका रूपमा छोडेका थुप्रै ऐतिहासिक वस्तु नास हुने क्रममा छन् । आफूलाई राजा भएको भ्रम छर्न कतिपय नेताले राजामहाराजा चढेका गाडी नै हत्याएका छन् । चल्ने गाडी नेताका घर–घर पुगे भने नचल्ने अवस्थाका गाडी संग्रहालयभित्र त छन् । तर, त्यसको संरक्षणका लागि प्रभावकारी काम भएका छैनन् ।

संगहालयभित्र इन्टरनेशनल लेखिएको गाडी राजा त्रिभुवनले विक्रम संवत १९६७ मा बेलायतबाट झिकाउनुभएको थियो । उक्त गाडी उहाँले पिकनिक जान र परिवारका सदस्य घुमाउन प्रयोग गर्नुहुन्थ्यो । गाडीको पाङ्ग्रा काम लाग्ने अवस्थामा छैन । तर, गाडीमा झुन्डिएको साँचो जस्ताको जस्तै छ । यो फलामको निर्जीव गाडी नभएर इतिहास हो । यसलाई जिउँदो शैक्षिक इतिहास बनाउने सोच कसैमा देखिँदैन ।

प्रिन्सेस लेखिएको अर्को गाडी राजा महेन्द्रले बेलायतबाटै झिकाउनुभएको हो । राजा महेन्द्रको कार्यकालमा धेरै प्रयोगमा आएको यो गाडी अहिले अलपत्र अवस्थामा छ । मर्मत सम्भार नहुँदा यसको हालत झन् जीर्ण बन्दै गएको छ । राजा त्रिभुवनकी कान्छी पत्नी सरला महारानीले प्रयोग गर्ने गरेको बा १ च ३८०४ नम्बरको कालो गाडी भने सर्वसाधारणको प्रदर्शनका लागि तयारी हालतमा राखिएको छ ।

त्यसैगरी बा ४ च १११९ नम्बरको हरियो रङको टोयोटा गाडी पूर्व युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड हुनु अघिल्लो दिनसम्म चलाउनुभएको थियो । पूर्वराजा ज्ञानेन्द्रको बहिर्गमनपछि २०६५ सालमा माओवादी नेता गोपाल किराँतीले मन्त्री भएका बेला जबर्जस्ती यो गाडीको प्रयोग गर्नुभएको थियो । जिल्ला जाने क्रममा सोलुखुम्बुमा दुर्घटना भएपछि सिंहदरबारमा थन्क्याइएको गाडी पछि संग्रहालयमा ल्याइएको हो । पूर्वराजा पारस शाहको निजी गाडी पनि यहीँ थन्किएको छ ।

राजतन्त्रको अन्त्यपछि राजामहाराजालाई गाली गर्नुमा आफ्नो भलो देखेका नेताहरूको आँखा यहाँ रहेका बिलासी गाडीमा पर्‍यो । राजा वीरेन्द्र चढ्ने गरेको लिमोजिन कार राष्ट्रपतिको प्रयोगमा छ । उपराष्ट्रपतिदेखि तात्कालिन परराष्ट्रमन्त्री सुजाता कोइराला समेतले यहाँका गाडी लग्नुभयो ।

दर्जनौं गाडीमध्ये बचे खुचेका केही गाडी प्रदर्शनमा राखिएका छन् । जसमा हिटलरले राजा त्रिभुवनलाई उपहार स्वरुप दिएको डाएम्लर बेन्च कारदेखि राजा वीरेन्द्रले राजकीय भ्रमणमा प्रयोगमा ल्याउने गरको श्रीपेचअंकित मर्सिडिज बुलेट प्रुफ गाडी पनि छन् । भीमफेदीबाट राजा त्रिभुवनले कामदार लगाइ बोकाएर ल्याएको ट्रक यहाँको अर्को आकर्षण हो ।

नम्बर प्लेट समेत नभएको ट्रकको अगाडी २ जना र पछाडिको भागमा ६ जना बस्न मिल्ने डिजाइनमा बनेको छ । जुन दशकौंदेखि तात्कालिन राजदरबार सचिवालय तथा हालको राहदनी विभाग परिसरमा राखिएको छ । यी अमूल्य निधिलाई इतिहासको साक्षी र पछिल्लो पुस्ताका लागि खुल्ला पुस्तकालयका रुपमा विकास गर्न आवश्यक छ ।