१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्घाखाँचीमा कोरोना संक्रमण तीव्र, स्थानीय तह र प्रशासनलाई छैन नियन्त्रणको चासो


0
Shares

सागर महत
अर्घाखाँची । अर्घाखाँचीमा समुदाय स्तरमा तीव्र गतिमा कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको लागि चुनौती बन्दै गएको छ । जिल्लामा निषेधाज्ञा जारी गरिएपनि संक्रमण झनै बढ्दो रहेको छ ।

अर्घाखाँचीमा पछिल्लो केहि दिन यता कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमण रोकथामको लागि गत साउन १६ गते देखि साउन ३० गते सम्म कडा निषेधाज्ञा लगाए पनि कोरोना नियन्त्रण हुनुको साटो झन बढ्दै गएको छ ।

अहिले सदरमुकाममा मात्र बढी कडा गरेपनि गाउँ तथा टोलमा रोकथामको लागि स्थानीय तह, प्रशासन लगायतका सम्बन्धित निकायले कोरोना संक्रमण नियन्त्रणको लागि चासो नदिँदा कोरोना संक्रमण नियन्त्रणमा आउन गाह्रो भएको हो ।

जिल्लाभरमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ६० भन्दा बढी पुगेको छ । जिल्लामा संक्रमितहरुको संख्या बढ्दै गएपछि अक्सिजनको आवश्यकता भएकाहरुलाई मात्र अस्पतालमा भर्ना गरिएको छ ।

आईसीयू सेवा संचालनको लागि सामाग्री आएपनि अस्पतालमा जनशक्तिको अभाव हुँदा सोहि सेवा संचालनमा नआएको जिल्ला अस्पताल अर्घाखाँचीका सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले भने स्थानीय तहसंग समन्वय गरेर निषेधाज्ञा तथा संक्रमणको जोखिम घटाउन पहल गरीरहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानरी दिनुभएको छ ।

कोरोना रोकथामको लागि स्थानीय तह र प्रशासन थप जिम्मेवारी नहुने हो भने कोरोना रोकथाम गर्न लागि निकै चुनौति हुनेछ । यसमा सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी रहेको छ । (भिडियो हेर्नुहोस्)