२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनीमा नयाँ सरकार गठनका लागि दावी, ४२ जना प्रदेशसभा सदस्यको हस्ताक्षर पेश


0
Shares

बुटवल ।  लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि दावी पेश गरेको छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर आह्वान गर्नुभएकाे थियाे। 

सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिनुभयाे । मुख्यमन्त्रीमा प्रस्तावित केसी रोल्पा १ (क)बाट निर्वाचित हुनुहुन्न्छ ।

सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ। एमाले सांसद तथा पूर्वमन्त्री बैजनाथ चौधरीले आफूहरु प्रतिपक्षमा रहने बताउनुभयाे।

प्रदेश प्रमुखले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी छ। गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।

गठबन्धनबीच मुख्यमन्त्रीमा आठ–आठ महिना आलोपालो गर्ने सहमति भए पनि अन्य मन्त्रालय बाँडफाँडको काम बाँकी नै छ। पहिलो ८ महिना केसी र २०७८ फागुन २ गतेपछि नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कानोडिया मुख्यमन्त्री बन्ने सहमति भएकाे छ। 

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र कायम छन्। बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ।
गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन्। अल्पमतमा परेको एमालेमा ३७ जना छन्। 

नवलपरासी पश्चिमबाट सूर्य चिन्ह लिएर स्वतन्त्रबाट निर्वाचित सांसद अजय शाही बुधबारदेखि ४ दलको गठबन्धनमा खुलेपछि गठबन्धनमा सांसद संख्या ४३ पुगेको छ।