
काठमाडौं । राष्ट्रियसभा सदस्य उदया शर्मा पौड्यालले पूर्व तयारीविना राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गरेको बताउनुभएको छ ।
बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य पौड्यालले परीक्षा एकाएक स्थगित हुँदा विद्यार्थीको मनोविज्ञानमा असर परेको बताउनुभयो । विस्तृत अध्ययनविना हठातमा परीक्षा स्थगन गर्न नहुने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘पूर्व तयारीविना राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गरेको छ । जेठ महिनामै हुनुपर्ने परीक्षा कोरोनाकै कारण स्थगित भएको थियो । साउन ३१ गतेदेखि सञ्चालन गर्ने तयारीमा कक्षा १२ का करिव ४ लाख विद्यार्थी रहेका थिए ।’
उहाँले थप्नुभयो, ‘एकाएक परीक्षा स्थागित हुँदा विद्यार्थी अन्योलमा परेका छन् । अन्तिममा निर्णयक तहमा बसेका व्यक्तिहरु सीसीएमसी लगायत कुनैपनि विस्तृत अध्ययन बिना हठात परीक्षा स्थगन गर्नु उचित होइन ।’
‘यस्तो निर्णयले लाखौँ विद्यार्थीको मनोविज्ञानमा के असर पर्छ ? सम्बन्धित निकायले यसको ध्यान दिनुपर्छ कि पर्दैन ? कक्षा १२ को मात्र परीक्षा रोक्नु उचित होइन, त्यसैले खोपको व्यवस्था गरी यथाशीघ्र परीक्षा लिइयोस्’, उहाँ भन्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्