
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने बताउनुभएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म एक करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको जानकारी दिनुभयो ।
उहाँले असोज मसान्तसम्म १ करोड २ लाख प्राप्त हुने र माघ मसान्तसम्ममा ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने जानकारी दिनुभयो । यसरी माघसम्म जम्मा ५ करोड २३ लाख मात्रा उपलब्ध हुने पनि उहाँले बताउनुभयो ।
राज्यमन्त्री श्रेष्ठले नेपाली जनतालाई कुल ५ करोड ५० लाख खोप आवश्यक रहेको उल्लेख गर्दै वर्तमान सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाखसम्म खोप लगाएको उहाँले जानकारी दिनुभयो । उहाँले विगत एक हप्ताको आँकडा अनुसार कोभिड १९ संक्रमणदर बढेकोले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन अपिल गर्नुभयो ।
हाल ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको जानकारी दिनुभयो । बन्द रहेको विद्यालयहरूमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नका लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारीका लागि खोप ल्याउने गृहकार्य पनि अगाडी बढाइएको उहाँले भनाइ छ ।
सरकारले नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण, रोकथाम, उपचार र खोप निशुल्क व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको राज्यमन्त्री श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्