१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनलाइन पढाएर ढाड सेकिने शुल्क : इन्जिनियरिङका विद्यार्थी मर्कामा, त्रिवि र कलेज मौन


52
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुले नै वैकल्पिक माध्यमबाट पठन–पाठन गराएको बेलाकै महङ्गो शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

प्रयोगात्मक कक्षा लिनुपर्ने इन्जिनियरिङ विधाको पढाइ वैकल्पिक माध्यमबाट गर्ने तर, शुल्क चाहिँ ढाँड सेकिने गरी लिने क्याम्पसहरुको शैलीप्रति विद्यार्थीको गम्भीर आपत्ति छ ।

कोरोना संक्रमणको जोखिम मोल्दै त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त काठमाडौंका ९ वटा निजी कलेजका विद्यार्थी रिले अनसन, धर्ना लगायतका आन्दोलन गरिरहेका छन् ।

काठमाडौं र कान्तिपुर इन्जिनियरिङ कलेजमा आन्दोलन भइरहेको छ भने इन्जिनियरिङ पढाइ हुने एड्भान्स्ड कलेज, हिमालय कलेज, नेशनल कलेज, काठफोर्ड इन्टरनेसनल कलेज, सगरमाथा, जनकपुर र ललितपुर इन्जिनियरिङ कलेजमा शुल्कको किचलो चलिरहेको छ ।

कोरोना भाइसर भन्दा ठूलो भाइरस त अनलाइन पढाएर पूरै शुल्क लिने कलेजको लुटाहा प्रवृत्ति भएको विद्यार्थी बताउँछन् । हिमालयन इन्जिनियरिङ कलेजलगायतमा शुल्कको सिलिङ तोक्न माग गर्दै विद्यार्थी आन्दोलित छन् । कलेज प्रशासनले आफूहरूमाथि दमन गरेको विद्यार्थीको आरोप छ ।

उहाँहरुले केही निर्णय दिन नसकेकाले आफूहरु आन्दोलन गर्नुपरेको विद्यार्थी विवेक ज्ञवाली बताउनुहुन्छ । आन्दोलनकै क्रममा कलेज प्रशासानले प्रहरी बोलाएर बन्दुक र बुटले बजारेर विद्यार्थीलाई दुर्व्यवहार गर्दै निकालिएको उहाँको भनाइ छ ।

प्रयोगात्मक शिक्षणमा आधारित इन्जिनियरिङ शिक्षाको पढाइ अनलाइनमार्फत गराउनु बाध्यता हो । तर, भौतिक रुपमा कक्षा भए बराबर शुल्क कसरी तिर्नु भन्ने विद्यार्थीको जिज्ञासा छ । अनलाइन पढ्नु र युट्युब हेर्नु उस्तै भएको अर्का विद्यार्थी नितेश ठाकुर बताउनुहुन्छ ।

अनलाइमार्फत पढ्दा आफूहरुलार्ई अप्ठ्यारो भएको गुनसो गर्दै उहाँले कलेजले प्याकेज सिस्टमा शुल्क उठाएकाले उक्त शुल्कमा छुटको माग गर्नुभएको छ । कलेजले माग सम्बोधन नगरेसम्म अनसन जारी रहने उहाँको भनाइ छ ।

उचित शुल्क तिर्न विद्यार्थी तयार छन् । कलेजको शुल्कको प्याकेजमा आफू र आफ्ना लागि प्रयोग गरिएका सम्पूर्ण विषयवस्तुको शुल्क तिर्न आफूहरु तयार रहेको विद्यार्थी मिलनबाबु खत्री बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मोबाइल डेटा, ल्यापटप लगायतका सम्पूर्ण शैक्षिक सामग्री आफैँले व्यवस्था गर्नुपर्ने भएपछि नपरेको बढी खर्च आफूहरुले किन तिर्नु ?’

परीक्षा फारम भर्ने दिन नजिकिदै छ । तर, अहिलेसम्म पढाइ प्रभावकारी छैन । पुस्तक लगायतका अध्ययन सामग्री लिन गयो कलेजको पुस्तकालयमा ताला झुण्डिएको हुन्छ । कलेजले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै परीक्षा फारम भर्नका लागिसमेत पहल नगरेको अर्का विद्यार्थी आर्जन प्याकुरेल बताउनुहुन्छ । कलेजले मानसिक अपराध गरेको उहाँको आरोप छ ।

विद्यार्थीको यी र यस्ता गुनासाप्रति हामीले कलेज प्रशासनसँग जवाफ खोज्ने प्रयास गर्‍याैँ । तर, कलेज प्रशासनले केही टिप्पणी गर्नै चाहेन ।कलेजले नसुनेपछि आफ्ना समस्या बोकेर विद्यार्थी जिल्ला प्रशासन कार्यालयसम्म पुगेका छन् । तर, न्यायको कतै अनुभूति छैन । न त विश्वविद्यालय नै विद्यार्थीको गुनासो सुन्छ ।

सरकारी निर्णय भएको र त्रिभुवन विश्वविद्यालयले मान्यता दिएका कलेजहरु भएकाले इन्जिनियरिङ्ग संस्थानका डीन शशिधरराम जोशी बताउनुहुन्छ । विद्यार्थीको आन्दोलनले परीक्षामा प्रभाव पर्ने हो कि भन्ने डर लागेको उहाँको भनाइ छ ।

शैक्षिक संस्था भनेको समाजमा प्रतिष्ठा कमाउने र शिक्षाको दियो बाल्ने अभिप्रायले खुलेका हुन्छन् । तर, विद्यार्थीको आन्दोलनलाई सम्बोधन नगरी कलेज प्रशासन सम्पर्कविहीन हुँदा सकारात्मक सन्देश जान सक्दैन ।