विवेक भण्डारी
नवलपुर । झण्डै एक महिनाअघि गएको पहिरोबाट विस्थापित बनेका नवलपुरको हुप्सेकोट गाउँका पहिरो पीडितहरु अझै गास र बासको समस्यामा छन् । सिंगो बस्ती नै पहिरोको चपेटामा परेका उनीहरु पुनः बस्ती बसाउन संघ, प्रदेश र स्थानीय तहको सहयोगको आशामा बाँचिरहेका छन् ।
झण्डै एक महिनाअघि गएको पहिरोपछि हुप्सेकोट गाउँका ६९ वर्षीय देउसीङ सोम र उनको परिवार घरवारविहीन भएका छन् । पहिरोले उनको घरमात्र नभइ ६५ रोपनी जमिनसमेत बगरमा परिणत भएको छ । जमिनका साथै घर, पशुपन्छी सबै पहिरोले पुरिएपछि अहिले एउटा विद्यालयको सानो कोठामा आश्रय लिएर बसिरहेका छन् । ८ जना छोरा छोरीसँगै आफू र श्रीमती गाउँमै कुटोकोदालो गरेर जिवन निर्वाह गर्दै आएका उनको परिवार घरसँगै जग्गा नै पहिरोले लगेपछि उनी अहिले जनता माध्यमिक विद्यालयमा आश्र्रय लिएर बसेका छन् ।
देउसिंह मात्र होइन हुप्सेकोट वडा नं. ५ का १८ घर परिवारका १ सय १३ जनाको अवस्था अहिले उस्तै छ । हुप्सेकोट– ५ कै दमन्ती सारु मगरको पनि पहिरोका कारण बिचल्ली भएको छ । गर्भवती भएको ९महिना हुँदाको अवस्थामा भोगेको पीडा उनका लागि बिर्सिनसक्नु छ ।
१८ घर परिवारका १ सय १३ जनालाई अहिले एउटै पिरलो छ । अब कहाँ जाने र कहाँ घर बनाउने ? दुःख सुख जेनतेन गुजारा चलाउँदै आएका पीडितहरुमा एकैपटक बज्रपात परेको छ । हुप्सेकोट गाउँपालिकाका प्रमुख लक्ष्मी पाण्डेले पहिरोमा सिंगो बस्ती नै परेको हुँदा स्थानीय सरकारले मात्र पुनः बस्ती बसाउन सम्भव नभएको बताउनु हुन्छ ।
कोरोना महामारीका कारण विद्यालयमा पठनपाठन नहुँदा पहिरो पीडितलाई विद्यालयमा आश्रय लिन त सजिलो भएको छ । तर खाने अन्न नहुँदा समस्या भएको छ । अब पीडितलाई बास र गाँसको व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय तहले विलम्ब गर्नु हँदैन ।
प्रतिक्रिया दिनुहोस्