
काठमाडौं । मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ ।
साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ ।
घरमूली गृहिणीले ‘लगपाँच’ का दिन सखारै पवित्र स्नान गरेर भित्तामा नागको चित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउने भोजन दूध, भुटेको धान, जुनेलो चढाउने गर्दछन् । साउन मध्य बर्खाभित्र पर्ने र यो बेला सर्पादिको भय हुने हुँदा नाग पूजाको परम्परा चलेको बताइन्छ ।
मिथिलामा ‘लगपाँच’ पर्व हिन्दू परम्पराका पर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ ।
‘लगपाँच’ लगत्तै राखी (रक्षाबन्धन), त्यसलगत्तै कुशे अमावश्या, चौरचन, इन्द्रजात्रा, पितृपक्ष, दशैँ, दिवाली र छठ लगालगी आउने हुँदा यो पर्वलाई पूर्वसूचना मान्ने गरिएको पाका मैथिल बताउँछन् । हिन्दू परम्परा सबै जीवप्रति समभाव राख्ने र प्रकृति पूजक भएको हुँदा सर्पादिको बढी चहलपहल हुने साउनमा नागपूजाको परम्परा बसेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्