१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२७ सम्पदाको पुनर्निर्माण सम्पन्न


0
Shares

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १४ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । हाल बनिरहेका सम्पदाको काम नसकी अरु काम गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै सुरु हुन सकेको छैन ।

हनुमानढोका विकास समितिबाट पुनर्निर्माण भइरहेको गद्दी बैठक र नौतले भवनको बीचमा रहेको राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनाराण शाहको शयन कक्ष, जैशी देवल र दश अवतार आगामी तीन महिनाभित्र पुनर्निर्माण सम्पन्न गर्ने गरी तीव्ररूपमा काम भइरहेको छ ।

त्यसैगरी अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पनि दशैँअगावै सक्ने गरी काम भइरहेको छ । हाल यस सम्पदामा गजुर राख्ने तयारी छ । आगम्छे घर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको अड्डाले जनाएको छ ।

जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ ।

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । दरबारको ७० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ ।

नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ ।