१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले एकता ‘आकाशको फल’ बन्ने निश्चित


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । आत्मालोचनासहित गत फागुन २३ पछिका निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार भएमात्र एमाले फुटको जोखिमबाट बच्न सक्ने देखिएको छ । अन्तिम समयसम्म ओली नसच्चिए माधवकुमार नेपाल समूह बृहत कम्युनिष्ट निर्माणको रणनीतिमा जुटेको छ ।

एकलौटी रुपमै अध्यक्षलाई शक्तिशाली बनाउने गरी विधान अधिवेशन गर्ने संस्थापन पक्षको निर्णयले पार्टी एकता थप संकटमा परेको ठहर माधव नेपाल पक्षको छ । उसो त केपी ओली पक्षलाई काउन्टरस्वरुप देशभर समानान्तर गतिविधि सञ्चालनमा नेपाल पक्षले जोड दिँदै आएको छ ।

एकताका लागि १० बुँदे सहमति समेत कार्यान्वयन हुन सकेको छैन । बरु नेताहरू एकअर्को गुटगत भेलाबाटै आरोप–प्रत्यारोपमा समय खर्चिँदै आएका छन् । एकले अर्को पक्षलाई विश्वास गरिहाल्ने अवस्था अझै बनिसकेको छैन ।

एमाले ब्युँतिसकेपछि ओली पक्षले एकलौटी रुपमा गरेका निर्णय खारेज र आत्मालोचना गर्नुपर्ने स्पष्ट अडानबाट नेपाल पक्ष हल्लिएको छैन । नेपाल निकट नेतृ नीरादेवी जैरु जनताको बहुदलीय जनवादको सिद्धान्तलाई धरापमा पुर्‍याएका ओलीले आत्मलोचना नगरेसम्म पार्टी एकता हुनै नसक्ने जिकिर गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘पार्टीको विधान र देशको संविधान संविधान नमान्ने व्यक्तिलाई अध्यक्ष भनेर जान सकिँदैन । उहाँले समीक्षा गर्नुपर्छ कि पर्दैन ? विधान अधिवेशनलाई वैधानिक मानिँदैन, यहाँ व्यक्तिको विषय छैन समग्र पार्टी प्रणालीको कुरा आयो अब त ।’

पार्टी मिलाएर जान नसक्ने, संविधानमाथि ‘कू’ गर्ने नेतृत्वकर्तालाई अबको पार्टी महाधिवेशनबाट विदाइ गर्नुपर्ने आवाज नेपाल पक्षले उठाइरहेको छ । ओलीले अन्तिम समयसम्म पनि नसच्चिए नेपाल पक्ष वृहत कम्युनिष्ट एकता गरेर अघि बढ्ने संकल्पका साथ गृहकार्य गरिरहेको छ ।

एमालेभित्रको किचलो मिलाउन फागुन २३ पछिका निर्णयहरु खारेज गर्न अन्तिम पटक अनुरोध गर्ने नेपाल पक्षको तयारी छ । अनुरोध सँगसँगै देशव्यापी रुपमा संगठन विस्तार गरेर ओलीको भन्दा राम्रो संगठन बनाएर देखाउने नेतृ जैरु बताउनुहुन्छ ।

‘त्यति गर्दा पनि नसच्चिए बृहत् कम्युनिष्ट एकता हुन्छ,’ उहाँ थप्नुहुन्छ, ‘यसमा दुईमतै छैन किनभने नेपालमा कम्युनिष्ट आन्दोलनलाई पश्चिम बंगालको जस्तो बनाउनु छैन ।’

भनिन्छ, भाइ फुटे गवार लुटे । एमालेको अन्तरकथा यही अवस्थामा छ । एकताको नाममा एकअर्कोविरुद्ध शर्तमाथि शर्त थप्ने, गुटगत गतिविधि गर्ने, आरोप–प्रत्यारोप गरी तेजोबध गर्ने काम नरोकिएसम्म एमाले एकता आकाशको फल बन्ने निश्चित छ ।