डिबी विष्ट
बझाङ । जिल्लामा कोभिड–१९ संक्रमणको तेस्रो लहरको जोखिम न्यूनिकरण तथा रोकथाम र नियन्त्रण गर्नका लागि पूर्व तयारीलाई तीव्रता दिइएको छ । विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरु एकजुट भएर तेस्रो लहर नियन्त्रणको तयारीमा लागेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य कार्यालय बझाङ लगायत अन्य सरकारी र गैरसरकारी संघ संस्थाहरु कोरोनाको तेस्रो लहर नियन्त्रण अभियानमा संयुक्त रुपमा लागेका छन् । उनीहरुले सर्वसाधरणले सुरक्षा मापदण्डमा हेलीचेक्राईं गरेको भन्दै सचेतनाको लागि मास्क अभियानलाई तीव्र पारेका छन् ।
तेस्रो भेरियन्ट रोकथामका लागी स्थानीय तहहरु बढी सचेत रहन आवश्यक रहेको र आम नागरिकलाई कोरोना सचेतना फैलाउन जरुरी रहेको नेपाल रेडक्रस सोसाइटी बझाङका मन्त्री ईश्वरनाथ जोशी बताउनुहुन्छ ।
स्वास्थ्यका मापदण्डको पालना अनिवार्य रुपमा गर्न र गराउने उदेश्यले सबै ठाँउमा मास्क अभियान संचालन गरिएको छ । कोरोना भाइरसको तेस्रो लहरको रोकथामका लागि नगरपालिकाले मातहतका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुलाई सचेत गराएको र कोभिड–१९ व्यवस्थापन कोषको समेत स्थापना गरेको जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काको भनाइ छ ।
जिल्लास्थित डिसीसीएमसीको बैठकले अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गराउनुपर्ने निर्णय गरेसँगै जिल्लामा सचेतना फैलाउन मास्क अभियानलाई तीव्रता दिइएको छ । अहिले अधिकांश नागरिकले मास्क लगाउनै छाडिसकेको अवस्थामा मास्क अभियान सञ्चालन भएपछि मास्क लागउन सुरु गरिएको छ ।
कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि स्वाथ्य कार्ययोजना बनाइ स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, गृह मन्त्रालयमा आवष्यक सहयोगका लागि पत्राचारसमेत भइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।
तेस्रो लहरको बारेमा आम नागरिकलाई जानकारी गराउन र स्वास्थ्यका मापदण्डको अनिवार्य पालन गराउन सबै पालिकाहरुलाई पत्राचार गरिएको र सबै पालिकाहरुले महिला स्वास्थ्य स्वयंसेविका मार्फत सचेतना कार्यक्रमहरु र विभिन्न ठाँउमा होडिङबोर्डसमेत राख्ने काम भएको उहाँको भनाइ छ ।
स्वास्थ्यका मापदण्डको पालना गराउनका लागी बजारमा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ । स्वास्थ्य मापदण्डको पालना नगरी बजारमा घुमफिर गर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कडा कारबाही हुनेछ । त्यसैले स्वयं सुरक्षा मापदण्डको पालना गर्ने हो भने कोरोना भाइरस नियन्त्रण गर्न सहज हुनेछ ।
प्रतिक्रिया दिनुहोस्