दिपेन्द्र अधिकारी
काठमाडौं । जलवायु परिवर्तनको दीर्घकालीन प्रभाव मौसममा देखिन थालेको छ । अघिल्लो महिना १ सय ४२ वर्ष यताकै सर्वाधिक गर्मी महिना प्रमाणित भएको छ ।
अमेरिकी वैज्ञानिकहरुले तापक्रममा आएको अविश्वसनीय अन्तर मानव सभ्यताकै लागि चासो र चिन्ताको विषय बनेको बताएका छन् । अमेरिकी संघीय वैज्ञानिक नियामक निकायले जुलाई महिना पृथ्वीमा अहिलेसम्मकै तातो महिना प्रमाणित भएको दावी गरेको छ ।
प्राप्त तथ्यांकअनुसार २० औं शताब्दीको औसत तापक्रम १५ दशमलव ८ डिग्री सेल्सियसभन्दा यो शून्य दशमलव ९३ डिग्री सेल्सियस बढी देखिएको छ । यसअघि सन् २०१६ को जुलाईमा उच्च तापक्रम रेकर्ड भएको थियो । यसले विनासकारी मार्गमा पृथ्वीलाई लैजाने वैज्ञानिकहरुको चिन्ता छ ।
जुलाईमा रेकर्ड भएको जमिन र समुद्रीसतहको एकीकृत तापक्रममा ठूलो अन्तर देखिएको छ । उत्तरी गोलार्धमा औसत तापक्रम सन् २०१२ मा मापन गरिएभन्दा १ दशमलव ५४ डिग्री सेल्सियस उच्च छ । यो वर्ष जुलाईमा नामाकरण गरिएका सामुद्रिक आँधीको संख्या पनि विगतभन्दा अधिक देखिएको छ ।
पछिल्लो तथ्यांकअनुसार एशियामा यो वर्षको जुलाईमा अहिलेसम्मकै गर्मी मापन भएको छ । बढ्दो तापक्रमले युरोपमा दोस्रो कीर्तिमान राखेको छ । उत्तरअमेरिका, अस्ट्रेलिया र न्यूजिल्याण्ड गर्मीको छैटौं रेकर्ड राखेकाे छ । त्यसैगरी अफ्रिकाले पनि गर्मीको उत्कर्ष अनुभव बटुल्यो ।
विश्वभर देखिएको अत्यन्त गम्भीर प्रकृतिका मौसमी गतिविधि र प्राकृतिक विपत्ति मानवीय कारणले भएको अध्ययनले देखाएको छ । कार्बनडाइअक्साईडको उत्सर्जन तत्काल नियन्त्रण नगरेमा बाढी, डढेलो, आँधीजस्ता घटना स्वाभाविक बन्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्