अक्कल कुँवर
काठमाडौं । २०४६ सालको राजनीतिक परिवर्तनपछि पटक–पटक सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको सत्तामा रहँदाको इतिहास राम्रो छैन ।
पछिल्लो निर्वाचनमा सत्ताको नेतृत्व गर्ने जनमत नपाए पनि विशेष परिस्थितिका कारण कांग्रेस पुनः सत्ताको हकदार बनेको छ । एक वर्ष सत्ता अवधि रहेको वर्तमान सत्ता कांग्रेसका लागि थाल खाउँ कि भात खाउँजस्तो भएको छ ।
निर्वाचनबाट झण्डै दुईतिहाई जनमत प्राप्त दल आन्तरिक कलहले राज्य सञ्चालन गर्न नसकेपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको हो । काकतालीले सत्तामा पुगेको नेपाली कांग्रेसको पछिल्लो सत्तारोहण विगतको जस्तै होला या फरक स्वयं कांग्रेस कार्यकर्तामा बहसको विषय बनेको छ ।
कांग्रेस नेता लोकेश ढकाल कांग्रेसको पछिल्लो सत्तारोहण जोखिमपूर्ण रहेको जिकिर गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जनताको अपेक्षा धेरै हुने त्यसलाई सम्बोधन गर्न नसक्नु र जनताका लागि अप्रिय निर्णयहरु गर्दै जाँदा कांग्रेसले आफ्नो भएको लोकप्रियता पनि गुमाइरहेको छ । पछिल्लो समय स्वास्थ्य राज्यमन्त्रीको विषयमा भएको विवाद त्यसको उदाहरण हो ।’
कांग्रेस नेतृत्वको वर्तमान सरकारको धरातल त्यति मजबुत छैन । पाँच दलीय गठबन्धनको प्रारम्भमै कलह देखिँदा सरकार बनेको महिना दिन वित्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गठबन्धनमा रहेका दलका नेताहरूको विगत चरित्र सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसका खतरापूर्ण रहेको दावी नेता ढकालको छ ।
सरकारको प्रारम्भिक कार्यसम्पादन जनअपेक्षा अनुरुप हुन सकेको छैन । अघिल्लो सरकारका निर्णय उल्ट्याउने प्रतिस्पर्धा चल्दा कतिपय निर्णय विवादित बनेका छन् । यो सम्पूर्ण दोष कांग्रेसका काँधमा आइपर्छ । यस स्थितिमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने साना विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।
वर्तमान सरकारको आयु बढीमा एक वर्ष हो । त्यसपछि यो सरकार चुनावी सरकारमा परिणत हुन्छ । त्यसैले गठबन्धन दल सरकार बनाउनमै अल्मलिने हो भने यो छोटो अवधि उसले ल्याएका साझा कार्यक्रम झुटको पुलिन्दा हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्