१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तालिबानको आक्रमणका बीच अफगानी राष्ट्रपति घानीको सम्बोधन, नागरिकलाई युद्ध नथोपर्ने प्रतिबद्धता


0
Shares

एजेन्सी । विद्रोही समूह तालिबानको लगातारको आक्रमण र जित हासिल गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले अफगान नागरिकहरूलाई युद्ध नथोपर्ने बताउनुभएको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफूहरूले पछिल्ला वर्षहरूमा हासिल गरेको उपलब्धिलाई गुम्न नदिने बताउनुभयो । अफगानी नागरिकहरूको थप हत्या र सार्वजनिक सम्पत्तिहरूलाई नष्ट हुन नदिने राष्ट्रपति घानीको भनाइ छ ।

उहाँले आफूलाई अफगान नागरिकहरूले भविष्यका बारेमा लिइरहेको चिन्ता थाहा रहेको भन्दै राष्ट्रपतिको रूपमा आगामी अस्थिरता, हिंसा र विस्थापन रोक्न पुरै ध्यान केन्द्रित गर्ने भरोसा दिलाउनुभयो ।

अहिलेको अवस्थामा अफगानिस्तानको सुरक्षा बल र सेनालाई फेरि एकजुट बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको राष्ट्रपति घानीको भनाइ छ । उहाँले अफगानिस्तानको स्थितिबारे स्थानीय नेता र अन्तर्राष्ट्रिय सहयोगीहरूसँग कुराकानी भइरहेको जानकारी दिनुभयो ।

यसअघि राष्ट्रपतिले सम्बोधनका क्रममा पदबाट राजीनामा दिने अडकलबाजी गरिए पनि यस सम्बन्धमा उहाँले केही उल्लेख गर्नुभएन ।