पोखरा । साढे तीन वर्ष गण्डकी प्रदेश सरकारको नेतृत्व गरेर हालै मात्र सत्ताच्यूत भएकोे नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार बनाएको छ ।
नयाँ सरकारले पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिनुभयो ।
मन्त्रालयमा हुने गतिविधिलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका संसदीय समूह बनाएको उहाँले बताउनुभयो । भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्न पूर्व मन्त्री रामशरण बस्नेतलाई संयोजक बनाइएको छ ।
त्यसै गरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय हेर्ने जिम्मेवारी पूर्व मन्त्री विकास लम्साललाई दिइएको छ । सामाजिक विकास मन्त्रालयको संयोजकमा नरदेवी पुन मगर, कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजकमा चन्द्र मोहन गौचन त्यसैगरी भूमि, व्यवस्था, कृषि मन्त्रालयको संयोजकमा मित्रकुमारी गुरुङ चयन हुनुभएको छ ।
ऊर्जा, खानेपानी मन्त्रालय हेर्ने जिम्मेवारी मीनप्रसाद गुरुङलाई दिइएको छ भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकमा मोहन प्रसाद रेग्मीले चयन हुनुभएको छ । स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुद समूहको संयोजके राजीव पहारीलाई बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्