काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरू अन्तिम पखाइमा रहेको भन्दै एकताका सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठन गर्ने जिम्मेवारीबाट पछि नहट्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित आफूनिकट बागमती प्रदेश सम्पर्क संगठन कमिटीको कार्यक्रममा उहाँले अध्यक्ष ओली एकताको पक्षमा नआए पार्टी पुनर्गठन गर्ने स्पष्ट पार्नुभयो । नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको भन्दै ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको आरोप लगाउनुभयो । उहाँले आफूहरू लुरुक्क परेर जाने स्थिति नभएको स्पष्ट पार्नुभयो ।
एमाले एकता र विभाजनको दोबाटोमा पुगेको नेता नेपालको भनाइ थियो । अध्यक्ष ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको उहाँको भनाइ छ । पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको टिप्पणी गर्दै नेता नेपालले अध्यक्ष ओलीले एमालेको विभाजन चाहेको जिकिर गर्नुभयो ।
नेता नेपालले आफूहरूले ओलीलाई पार्टीको विधिमा बाँध्न खोज्दा, सरकारको काम राम्रोसँग गर्नुहोस् भनेर सुझाव दिँदा घेराबन्दीको अर्थमा बुझेको बताउनुभयोे । ‘ओलीले माधव नेपाल जस्तालाई एमालेमा ठाउँ छैन भनिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘तर एकताको कुरा गर्नेले सबै निर्णय खारेज हुन्छ भने पनि अहिलेसम्म कुन निर्णय खारेज भयो ?’
नेता नेपालले पार्टी एकताका लागि आफूहरूले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको भन्दै लोकतन्त्रको रक्षाका लागि आफूहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिनुपरेको दोहो¥याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्