१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


मध्यपुरथिमि नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित


0
Shares

भक्तपुर, साउन १५ । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भइ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् ।

नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको बचाऊ गरेको छ भने अर्को पक्षले विरोध गरेको छ ।

कांग्रेसबाट निर्वाचित बहुमत जनप्रतिनिधिले कौशलटारमा पत्रकार सम्मेलन गरी पार्टीको सिद्घान्त, मूल्य–मान्यता र विधान अनुशरण गर्दै नगरको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेको दाबी गरेका छन् ।

उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित वडा नम्बर–२ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापामगर, वडा नम्बर–३ का अध्यक्ष प्रेम कुटु, वडा नम्बर–६ का अध्यक्ष इन्द्रबहादुर प्रजापति, वडा नम्बर–९ का अध्यक्ष रामकाजी चक्रधरसहित ९ जना नगरकार्यपालिका सदस्य तथा १५ नगर सदस्य गरी २९ जनाको हस्ताक्षरित संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलनमा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटको समर्थन गर्दै जनताको पक्षमा बजेट तथा कार्यक्रम ल्याइएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा वडा नम्बर–२ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता राम थापामगरले सचेत नगरवासीमा भ्रम सिर्जना हुनेगरी जनप्रतिनिधिको भत्ता र सुविधा बढाउन करवद्घि गरिएको भन्ने हल्लाको पछि नलाग्न आम नगरवासीलाई आह्वान गरे ।

आव २०७५/७६ को बजेट, नीति तथा कार्यक्रममा केन्द्र तथा प्रदेश सरकारबाट निर्णय भएकोभन्दा कहीँ–कतै पनि सेवा–सुविधा लिने र दिने गरी कुनै निर्णय नभएको र वैज्ञानिक ढंगले कर निर्धारण गरिएपनि कुनैपनि शीर्षकमा कर वृद्धि नगरिएको उनको भनाइ थियो ।

थापामगरले भने–‘नगरपालिकाको विकासमा पार्टीले दिएको एजेन्डाभित्र बसेर काम गरेका छौं । तर, पार्टीले जनप्रतिनिधिको हातखुट्टा बाँधेर यसो गर, त्यसो नगर भन्न मिल्दैन । जनताको पक्षमा काम गर्न पार्टीले हस्तक्षेप गर्नुहुँदैन ।’

पत्रकार सम्मेलनमा वडा नम्बर–३ का अध्यक्ष प्रेम कुटुले आफूहरु जनताप्रति अत्यन्त संवेदनशील रहेको र प्रत्यक्ष जनसरोकार रहेको एकीकृत सम्पति करको विषयमा पनि सबै पदाधिकारी सचेत रहेर काम गरेको बताए ।

उनले भने–‘पार्टीको एजेन्डाबाहिर गएर हामीले कुनै काम गरेका छैनौं । पार्टीको एजेन्डा छाडेको प्रमाणित भए सामूहिक राजिनामा दिन तयार छौं ।’

कांग्रेसबाट निर्वाचित ३५ जना जनप्रतिनिधिमध्ये बाँकी ६ जनप्रतिनिधिले भने १ नम्बर वडा कार्यालयमा यसअघि नै छुट्टै पत्रकार सम्मेलन गरेर नगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेटको विरोध गरेका थिए ।

वडा नम्बर–१ का वडाध्यक्ष सुरज खड्काले नगरपालिकाले जनताको भावनाविपरीत जथाभावी करवृद्धि गरेर जनतालाई भार पारेकाले सार्वजनिक भएको बजेट तथा कार्यक्रममा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर आएको बताए ।

यसको विरोधमा वडा कार्यालयले गत साउन १ गतेदेखि ‘पेनडाउन’ गरेर यही साउन ११ गते पुनः काम सन्चालन गरेपनि नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट नसच्याएसम्म विरोध कायमै रहने र मंगलबार साँझ बालकुमारीमा करवृद्धिकोविरुद्धमा विरोधसभा गर्ने उनले बताए । रासस