१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अफगानिस्तानमा रहेका नेपालीबारे सरकारले बल्ल दियो चासो, बन्यो अध्ययन संयन्त्र, उद्धारका लागि पहल हुँदै


0
Shares

काठमाडौं । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राज्य सत्ता कब्जा गर्ने गरी अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँ त्रासमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र गठन गरेको छ ।

सो संयन्त्रमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यक मन्त्रालयका प्रतिनिधि रहेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव भरत पौडेलले सो संयन्त्रले अनौपचारिक क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्ने जानकारी दिनुभयो ।

सचिव पौडेलले अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक सरकारसँग नरहेको बताउनुभयो । औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको उहाँको भनाई थियो ।

पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको पनि बताउनुभयो । औपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको उद्धारका लागि भने नेपालस्थित कूटनीतिक नियोगहरुसँग पनि कुराकानी भइरहेको उहाँको भनाई छ ।