प्रकाश मैनाली
सर्लाही । सर्लाहीको बागमतीमा रहेको एक अस्पतालले बिरामीलाई पाँच महिनाअघि नै म्याद गुज्रिएको औषधि बिक्री गरेको पाइएको छ ।
बागमती नगरपालिका–१२, वीर गोर्खाली चौकमा रहेको बागमती मोडेल हस्पिटलले मोटरसाइकल दुर्घटनामा परेर उपचार गर्न पुगेका बिरामीलाई अङ्ग्रेजी महिना गत मार्चमै म्याद सकिएको औषधि बिक्री गरेको भेटिएको हो ।
हरिवन नगरपालिका–३, सासापुर घरभई हाल बागमती नगरपालिका–९, मा बस्ने मिलन लामालाई साउन २२ गते अस्पतालकै फार्मेसीबाट पाँच महिनाअघि म्याद सकिएको क्याल्सीयम र भिटामिन डी–थ्रि ट्याब्लेट दिएको खुलेको हो ।
लामाका भिनाजु वुद्धिमान लामाले अस्पतालले लापरवाही ढङ्गले आफूहरुलाई म्याद गुज्रिएको औषधि दिएको बताउनु भएको छ । अस्पतालमा दोहो¥याएर औषधि लिन जाँदा पनि पुनः म्याद गुज्रिएकै औषधि दिएर पठाएको उहाँले दावी गर्नुभयो ।
‘पहिलोचोटी लिँदा मार्चमै म्याद सकिएको औषधि दिएर पठाएको रहेछन्, पछि घरमा आएर खानेबेला थाहा भयो,’ बिरामीका भिनाजु लामाले भन्नुभयो, ‘फेरि दोहो¥याएर जाँदा त्यही म्याद गुज्रिएकै औषधि दिएर पठाइयो । यसबाट अस्पतालले जानाजान बिरामीको स्वास्थ्यमा खेलवाड गरेर चरम लापरवाही गरेको प्रष्ट हुन्छ ।’
अस्पतालले पनि बिरामीलाई म्याद गुज्रिएको औषधि बिक्री भएको स्वीकार गरेको छ । अस्पतालका संचालक डा. उपेन्द्र महतोले फार्मेसीका कर्मचारीको गल्तीका कारण बिरामीलाई म्याद सकिएको औषधि बिक्री भएको स्वीकार गर्नुभएको हो ।
डा. महतोले बिरामीलाई जानजान नभई भूलवस् म्याद गुज्रिएको औषधि बिक्री हुन पुगेको बताउनुभयो । ‘म्याद गुज्रिएको औषधि बिक्री भएकै हो, यो कुरा म स्वीकार गर्छु,’ डा. महतोले भन्नुभयो, ‘यस विषयमा हामीले बिरामीसँग क्षमा समेत मागिसकेका छौँ, आगामी दिनमा यस्तो गल्ती हुँदैन् ।’
डा. महतोले म्याद गुज्रिएको औषधि सेवन गर्दा बिरामीमा कुनै साईड इफेक्ट नदेखिएको र औषधि सेवनबाटै बिरामीलाई केहीकसो भए अस्पतालले जिम्मा लिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्