३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


प्रधानमन्त्री हिड्ने बाटोको भद्रगोल अवस्थामा आएन सुधार


0
Shares

एलबी विश्वकर्मा

काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवाले कार्यकाल सम्हालेका दिन बुढानिलकण्ठ जाने बाटो सुधार गरियो भन्ने व्यापक हो–हल्ला थियो । तर देउवा सरकारको एक महिना वितिसक्दा पनि यहाँको बाटोको भद्रगोल अवस्थामा सुधार आउन सकेको छैन् ।

प्रधानमन्त्री, तीन मन्त्री र एकजना राज्यमन्त्री भरमा सरकार चलिरहेको छ । दैनिकजसो सतारुढ दलको बैठक प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा चल्छ । अनौपचारिक महत्वपूर्ण भेटघाट यतै हुने गर्छ । त्यतिमात्र हैन, देशका थुप्रै प्रतिष्ठित मानिसको आवास यही क्षेत्रमा छ ।

ठूलाबडाका गाडी भद्रगोल सडक छलेर किनाराबाटै भाग्छन् । तर पैदलयात्री र सर्वसाधारणले भोग्नुपरेको पीडा साँच्चै अत्यासलाग्दो छ । अहिले पानी परेर मात्रै हिड्डुल गर्न अलि सजिलो भएको बताउनुहुन्छ स्थानीय हरिप्रसाद खरेल । उहाँकाअनुसार पानी नपरेको दिनमा धुलो सताएर हिड्नै गाह्रो छ । घरभित्र समेत धुलो पस्ने गरेको खरेलको भनाई छ ।

प्रधानमन्त्री तीन पटक यही बाटो हिड्ने गर्नुहुन्छ । साथै गृहमन्त्री र अर्थमन्त्री पनि यहि बाटो हिड्नुहुन्छ उहाँहरुलाई मतलव छैन, हामीले के भन्ने भन्दै खरेलले प्रश्न गर्नुहुन्छ ।

स्थानीय जनप्रतिनिधिका आ—आफ्नै दावी छन् । उनीहरु आफ्नो कार्यकालमा सडक निर्माण हुनेमा ढुक्क छैनन् । बुढानिलकण्ठ नगरपालिका वडानम्बर ६ सदस्य श्यामकृष्ण महर्जनले ठेक्दारका कारण सडक निर्माणमा ढिलाई भएको बताउनुभयो । ‘ठेक्दार जाने आउने अथवा भाग्ने गर्दा सडक निमार्णमा कठिनाइ भएको छ,’ उहाँ भन्नुहुन्छ, ‘स्थानीय तहको चुनापछि मात्रै बाटो बन्ला जस्तो छ ।’

त्यस्तै, बुढानिलकण्ठ नगरपालिकाका उपमेयर रमादेवी राइले उपमेयर वर्षाको समयमा बाटो खराव हुने, हिलो हुने, पानी बग्ने भइ नै हाल्छ, यसलाई प्राकृतिक विपद् नै भन्नुपर्ने बताउँनुहुन्छ ।

सडक हाल यस्तो छ । यद्यपि विकासमा कायापलट गरेको दावी मेयरको छ । स्रोतसाधनअनुसार थुप्रै काम भएको बुढानिलकण्ठका मेयर उद्धपप्रसाद खरेलको भनाइ छ । देशकै ठूलाबडा मानिस रातोदिन हिँड्ने बाटोका त यो हालत छ भने गाउँको अवस्था के होला ?