एजेन्सी । तालिवानी सशस्त्र विद्रोही समूहले देशका अन्य भूभाग कब्जा गर्दै राजधानी काबुलमा समेत नियन्त्रण गर्ने पक्कापक्की भएपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानी शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न तयार भएका छन् ।
तालिबानी समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाएपछि राष्ट्रपति घानीले घुँडा टेक्नु भएको हो । विद्रोही समुहका प्रतिनिधिसँग आज भएको भेटपछि घानी तालिवानीलाई सत्ता सुम्पन मञ्जुर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अन्तरिम गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले पनि काबुलमा हमला नहुने बताउँदै सरकारी पक्ष सहजै सत्ता हस्तान्तरण गर्ने पक्षमा रहेको जनाउ दिएका छन् ।
यसैबीच तालिबानले आफ्नो देशमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्किन दिने बताएको छ । काबुलमा तालिबान पसेको समाचारपछि पहिलो सार्वजनिक विज्ञप्तिमार्फत तालिबानले यस्तो बताएको हो । उसले अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ ।
तालिबानले जितको खुसीयालीमा आफ्ना लडाकुहरुलाई गोलीबारी गर्न नदिने बताएको छ । साथै सरकारी सेनालाई पनि आफ्नो घर फर्किन दिने तालिबानको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने तालिबानको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्