काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गर्नुभएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३४औं स्थापना दिवसका अवसरमा मन्त्री शर्माले यस्तो आग्रह गर्नुभएको हो । बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको भन्दै मन्त्री शर्माले सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा हुनुपर्ने बताउनुभयो ।
उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरूलाई आग्रह गर्नुभयो । उहाँले कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउन समेत आहृवान पनि गर्नुभएको छ । गरिबी निवारणमा सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
सहकारीले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको भन्दै त्यसलाई घटाउनुपर्ने मन्त्री शर्माको भनाइ छ । कतिपय सहकारीहरूले जनताको पैसा ठगेर उठिबास लगाएका घटना देखिएकाले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गर्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरू तथा प्रदेश र जिल्ला बचत संघहरूमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्य आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्