१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओटिसी सेयर कारोबार गर्न मलाई कानुनले रोक्दैन– सिईओ साउद


0
Shares

काठमाडौं । सेयर बजारको नियमक निकाय नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सिईओ)चन्द्रसिंह साउदले आफूलाई कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान ऐन, कानुनले नरोकेको स्पष्टिकरण दिनुभएको छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा समितिका सदस्यहरूले नियमक निकाय नेप्सेका प्रमुख आफैले किन गैरजिम्मेवार ढंगले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएको भनि प्रश्न गरेका थिए । जवाफमा प्रमुख कार्यकारी अधिकृत साउदले नेप्से प्रमुखको हैसियतमा कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान कानुनले आफूलाई नरोकेको जवाफ दिनुभयो ।

उहाँले भन्नु भयो, ‘हाम्रो सञ्चालक समितिको आचार संहिताले के भन्छ भने रेगुलेटर सेकेन्डरी मार्केटबाहेक अन्य कुनै पनि संस्थाको संस्थागत सेयर किन्न कुनै बाधा पर्ने छैन । यही व्यवस्था हाम्रो ऐनमा पनि लेखिएको छ । त्यही प्रावधान अन्तरगत यो सेयर कारोबार गरिएको हो । नियम मिचेर यो काम गरिएको होईन । म पनि त नागरिक हुँ नि । मैले पनि त आफ्नो लगानी गर्न पाउनुपर्‍यो नि ?’

प्रमुख कार्यकारी अधिकृत साउँदले विभिन्न समाचार माध्यामहरूले सेयर कारोबारसम्बन्धी विद्यमान ऐन, कानुनको व्यवस्था नबुझी सर्वोत्तम सिमेन्टको ओटिसी सेयर नियमक निकाय आफैँले खरिद विक्री गरेको भनेर झूटा समाचार सम्प्रेषण गरेको दावी समेत गर्नुभयो ।

बैठकमा समितिका सदस्यहरूले सेयर बजारमा गैर कानुनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदा–गराउँदै नेप्से जस्ता नियमक निकाय आफैँले नैतिक प्रश्न समेत खडा हुने गरी ओटिसी सेयर कारोबारमा संलग्न भएको भन्दै आपत्ति जनाएका थिए ।

समितिका सदस्य रामकुमारी झाँक्रीले सेयर बजारमा गैरकानुनी, अनैतिक गतिविधि बढाउन नदिन समितिले पटक–पटक दिएको सुझावप्रति जिम्मेवार हुन नसकेको भन्दै नेप्सेको पदाधिकारीमाथि आक्रोश व्यक्त गर्नुभयो । उहाँले आफैँमाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार काम नेप्सेले गरेको भन्दै त्यसको छानवीन गरेर दोषीमाथि कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

समितिकी अर्का सदस्य निरादेवी जैरुले सेयर बजारका लगानीकर्ताप्रति जिम्मेवार बन्न नेप्सेलगायतका नियमक निकायलाई सचेत गराउनुभयो । उहाँले नेप्सेजस्ता संस्थाहरूलाई नीति र विधि अनुसार चलेर सेयर बजारलाई स्वस्थ ढंगले अघि बढाउन आग्रह गर्नुभयो ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नेप्सेलगायतका नियमक निकायहरू आफैँले सेयर बजारमा खेल खेलेको भन्दै त्यसलाई रोक्नका लागि आवश्यक कानुनी व्यवस्था गर्ने चेतावनी दिनुभयो । उहाँले रेफ्री खेलमा सहभागी हुन नहुने व्यवस्था भए पनि सेयर बजारमा त्यो नियम उलंघन गर्ने काम गरिएको भन्दै आपत्ति जनाउनुभयो ।