काठमाडौं । उतार चढावकाबीच सोमबार सेयर बजार परिसूचक ‘नेप्से’ ५ दशमलव ७५ अंकले उकालो लागेर ३१ सय ६० विन्दुमा पुगेर थामिएको छ ।
कारोबार रकम पनि आइतबारको तुलनामा कमी आउँदा १६ अर्ब नजिक पुग्यो । आइतबार कारोबार रकमले अहिलेसम्मकै बढी २१ अर्ब ६५ करोड बढीको कारोबार भएको थियो । सोमबार आधा उपसूचक हरियो रहँदा आधा रातो रहे ।
सोमबार पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेशनल हाइड्रो, कर्पोरेट विकास बैंक, रिदी हाइड्रो, खानिखोला हाइड्रो र जीवन विकास लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यसदिन सबैभन्दा बढी उत्पादन समूहमा १ सय ५९ अंकको सुधार आउँदा विकास बैंक ७५, व्यापार समुह ६५, लघुवित्त ५७, जलविद्युत् ४० अंकले उकालो लागेको छ । अन्य र लगानी समूह सामान्य अंकले वृद्धि भएका छन् ।
यस्तै सोमबार जीवन बीमा सबैभन्दा बढी १ सय ७३ अंकले ओरालो लाग्दा निर्जीवन ६७, होटल तथा पर्यटन ३३ र वित्त समूहमा २८ अंकको गिरावट आउँदा बैंक समूहमा पनि दोहोरो अंकले कमी आएको छ । सामुहिक लगानी कोष भने रातो मात्र रह्यो ।
यसदिन ८८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९१ कम्पनीको मूल्यमा गिरावट आएको छ ६ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । सोमबार २ सय २७ कम्पनीका २ कारोड ८६ लाख कित्ता शेयर १५ अर्ब ९३ करोड बढीमा कारोबार भएको एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्