१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अफगानिस्तानमा रहेको नेपालीको अवस्थाबारे जानकारी गराउन एमालेको माग


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अफगानिस्तान मामिला र त्यहाँ रहेका नेपालीको उद्धारबारे सरकारसँग जवाफ मागेको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको सुरुमै बोल्दै प्रतिपक्षी दल एमालेका सांसद् गोकुल बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारबारे संसद्मा जानकारी दिन सरकारसँग माग गर्नुभएको हो ।

उहाँले अफगानिस्तानमा उत्पन्न राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

सांसद् बास्कोटाले दक्षिण एसियाली राष्ट्र अफगानिस्तानमा संकट उत्पन्न हुँदा सार्क राष्ट्रको अध्यक्ष रहेको नेपाल मौन बस्नु स्वभाविक नभएको जिकिर गर्नुभयो । उहाँले अफगानिस्तानमा रहेका आफ्ना नागरिकको उद्धारका लागि सरकार तत्काल एक्सनमा जानुपर्ने बताउनुभयो ।

सांसद् महेश बस्नेतले अफगानिस्तानमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गर्नुभयो । प्रमुख प्रतिपक्षी दल एमालेकै सांसद भीम रावलले १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरूको माग सम्बोधनका लागि बेलायत सरकारले वार्ता टोली समेत नबनाएको भन्दै खेद व्यक्त गर्नुभयो ।

रावलले नेपाल सरकारले नै भूतपूर्व गोर्खा सैनिकहरूलाई हतोत्साहित गर्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले समस्या समाधानका लागि नेपाल सरकारको सक्रियता हुनुपर्ने बताउनुभयो ।

सत्तारुढ दल माओवादी केन्द्रका सांसद् गिरिराजमणी पोखरेलले कालापानीसहितका क्षेत्र समेटिएको नक्सा सार्वजनिक भए पनि क्षेत्रफल यकिन हुन नसकेको भन्दै यसलाई तत्काल टुङ्ग्याउन माग गर्नुभयो । विगतको सरकारले क्षेत्रफल घोषणा गर्न नसकेको भन्दै वर्तमान सरकारले तत्काल क्षेत्रफल घोषणा गर्न माग गर्नुभयो ।