नुवाकोट । एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरेको स्पष्ट पारेको छ ।
बेलकोटगढी नगरपालिका–७ रातमाटेमा अधिग्रहण गरेको जग्गामा एमसीसी परियोजना अन्तर्गतको कुनै आयोजना बनाउन नदिने भन्दै स्वतन्त्र राष्ट्रिय अभियानले कब्जा गरेको घोषणा गरेको थियो ।
सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को अनुदान सहयोगमा एमसीए–नेपाल विकास समितिले नुवाकोटकोमा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब–स्टेशनका लागि जग्गा अधिग्रहण गरिएको जनाएको छ ।
सब–स्टेशनका लागि आवश्यक ३ सय ९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन अनुसार गरिएको एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भविष्यमा नेपाल विद्युत् प्राधिकरणले बनाउने सब–स्टेशन पनि रहने गरी जग्गा अधिग्रहण गरिएको विज्ञप्तिमा जनाइएको छ । त्यहाँका १ सय २ घरपरिवारका १ सय ९५ कित्ता जग्गा अधिग्रहण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्