१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एन्फा विवाद समाधान गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने


0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)को विवादको विषयमा छानविन गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने भएको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविन गर्न राष्ट्रिय खेलकुद परिषदले समिति गठन गरेको थियो । छानविनका क्रममा १४ जनाको बयान लिएको र त्यसअनुसार आवश्यक कागजात संकलन गरेको समितिले जनाएको छ ।

मितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो । बयान दिएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफू छानविन प्रक्रियाबाट सन्तुष्ट रहेको अभिव्यक्ति दिएका थिए ।

बयानको पहिलो दिन मंगलबार समितिले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, प्रवक्ता किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङसँग बयान लिएको थियो । बुधबार उपाध्यक्षद्वय कृष्ण थापा र वीरबहादुर खड्का, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, महासचिव इन्द्रमान तुलाधर तथा व्यवस्थापक उपाध्याय समितिमा बयानका लागि उपस्थित भएका थिए ।

यता वरिष्ठ उपाध्यक्ष नेम्बाङले छानविनको जिम्मेवारी मन्त्रालयबाट राखेपसम्म पुग्नुले नै एन्फा नेतृत्वको असफलता रहेको बताएका छन् । एन्फाको कार्यकारी समितिको आपतकालिन बैठकले विवाद समाधान गर्न नसकेपछि छानविनका लागि एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो ।

मन्त्रालयले राखेपलाई छानबिनका लागि पत्र काटेको थियो । गत साता राखेपले सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । सोही समितिले मंगलबारबाट बयान सुरु गरेको थियोे ।