१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खुर्सानीकाे दन्त्यलहर : तस्वीरमा सीमित हुँदै कर्म र संस्कृतिको अनुपम शैली (भिडियो)


0
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । दन्त्यलहर जसरी मिलाएर खुर्सानी सुकाउने अनौठो शैलीले ललितपुरको प्राचीन बस्ती खोकना र बुङमती शोभायमान छन् ।

नेवारी संस्कृतिको यो मौलिक परम्परा शहरीकरणसँगै लोपोन्मुख बन्दैछ । खुर्सानीलाई परालमा उनेर माला बनाइ घर बाहिर झुण्ड्याउने यो शैली आफैँमा अनुपम छ ।

मतप्वा लाखे नाचसँगै ललितपुरको बुङ्गमतिमा जात्रा पर्व आरम्भ भएको मानिन्छ । जात्रा पर्वहरूको शुरुवातसँगै यहाँका कृषकलाई घर–घरमा कलात्मक शैलीले खुर्सानी झुण्ड्याउने चटारो छ ।

परालमा खुर्सानी उनेर घरमा झुण्ड्याउँदै लाखेनाचमा रमाउनु कर्म र संस्कृतिको संयोजन हो । बाटो हिँड्नेहरू समेत टक्क अडिएर यो कृषिकला अवलोकन गर्छन् ।
झरीको मौसममा खुर्सानीलाई बचाउने खोक

वासीको यो शैली मौलिक परम्पराका रुपमा विकास भएको छ । वैज्ञानिक दृष्टिले पनि यसले प्रामाणिकता पाएको छ । पानी नपर्ने मौसममा यही खुर्सानी भुईंमा सुकाइन्छ ।

द्रूतमार्ग बन्ने भएपछि जग्गा गुमाउनुपरेको पीडाले खोकना र बुङ्गमतीका कृषकहरू दुखी छन् । कृषिकर्मप्रति नयाँपुस्ता विमुख बन्दै गएकोप्रति अघिल्लो पुस्तालाई कति पनि चित्त बुझेको छैन । किसान कृष्ण महर्जन नयाँ पुस्ताले आफ्नो पुर्ख्यौली पेशालाई छाड्न नहुने बताउनुहुन्छ ।

विगतमा कृषिमा निर्भर यहाँका बासिन्दा अहिले परनिर्भर बन्दै गएका छन् । खुर्सानी झ्ण्ड्याउने परम्परामा आएको कमीले पनि त्यसलाई पुष्टि गर्छ । खेती किसानीमा बाँच्नेहरू विरलै देखिने गरेको स्वयं किसान राजमाया डंगोलको भनाइ छ ।

भूकम्पपछि झन् तीब्र गतिमा बढेको आधुनिकीकरणले खोकनाको यो मौलिक परम्परा अझ संकटमा पर्दै गएको छ । कर्म र संस्कृतिको यो अनौठो मिलापलाई संरक्षण नगर्ने हो भने फोटोमा सीमित हुने निश्चित छ ।