सन्तोष पुर्कुटी
ताप्लेजुङ । खानेपानीका लागि विभिन्न प्रयासहरु प्राय असफल हुँदै आएको ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा लिफ्टिङ प्रविधिको प्रयोग गरि खानेपानी पुर्याउने योजनाको काम करिब ८० प्रतिशत पुरा भएको छ ।
यस अघि खानेपानीका लागि खाल्डो खनेर हिउँ जम्मा गर्ने, पाईपबाट ल्याउने, कुहिरोबाट पानी झार्ने, आकासे पानी जम्मा गर्ने जस्ता योजना सफल र दिर्घकालिन नभएपछि पछिल्लो पटक लिफ्टिङ प्रविधिको प्रयोगबाट खानेपानी पुर्याउन लागिएको हो ।
करिब ४ किलोमीटर तल रहेको मुहानबाट लिफ्टिङ गरि मन्दिर सहित आसपासका बस्तिमा खानेपानी पुर्याउने लक्ष सहित नेपाल सरकारको ७० र उपभोक्ता संस्थाको ३० प्रतिशत लागत रहने गरि गत वर्षको कार्तिकदेखि आयोजनाको काम भईरहेको छ । बीचमा कुनै अवरोध नभए आगामी असोज सम्ममा पाथीभरा क्षेत्रमा खानेपानी पुग्ने निर्माण कम्पनी प्रेरा विष्णु जेभी ईलामका प्रतिनीधि नन्दकुमार ओझाले बताउनुभयो ।
अहिले सम्ममा ६ वटा ट्याङ्की र पम्प हाउस बनिसकेका छन् । पाईप जडानको कार्य धमाधम भईरहेको छ । आयोजनाको कामले तिव्रता पाए पछि पाथीभरा क्षेत्रका बासिन्दालाई पानीको अभावबाट मुक्त हुने आसा पलाउन थालेको छ ।
पाथीभरा क्षेत्रमा पानीको अभावले होटल व्यवासायी र तिर्थयात्रीले सास्ती खेप्दै आएकाछन् । कहिले हिउँ पगालेर त कहिले पाईपमा आएको तिरतिरे पानी जोहो गरेर यात्रीलाई खुवाउँदै आएका यहाँका होटल व्यवसायी लुगा धुन भने अन्यत्रै जानु पर्ने सम्मका बाध्यतामा छन् ।
यसरी खानेपानीको अभावले सास्ती भोग्दै आएका व्यवसायी र भक्तजनलाई निर्माणाधीन खानेपानी आयोजनाले आसा पलाए पनि पाथीभरा देवी दर्शन केवलकार प्रालि संगको जग्गा विवाद आदिले भने केहि कठिनाईहरु उत्पन्न भएको बताईन्छ । वार्षिक लाखौँ स्वदेशी तथा विदेशी भक्तजन पुग्ने पाथीभरा क्षेत्रमा समयमा खानेपानी आयोजना सम्पन्न भए वर्षौदेखि सास्ती खेप्दै आएका स्थानीय र भक्तजनलाई सहज हने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्